बागमती प्रदेश सरकारले आफ्नै सूचना संयन्त्र बनाउने भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सरकारले आफ्नै सूचना संयन्त्र बनाउने बताएका हुन्।
सञ्चार रजिस्ट्रारको कार्यालयले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको डेटा ड्रिभन पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
सरकारी सूचना र सन्देशहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले ‘सूचना वैंक’ बनाउने र सोही मार्फत सूचना प्रवाह गर्ने उनले बताए। प्रदेश सरकारले संघीय सरकारको राष्ट्रिय समाचार समिति (रासस) जस्तै सरकारी न्यूज एजेन्सी निर्माण गर्ने र त्यसको नाम बागमती प्रदेश सूचना बैंक हुने उनले जानकारी दिए।
मन्त्री श्रेष्ठले भने, ‘बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडामा समाचार डेस्क स्थापना गर्ने र १३ वटै जिल्लामा आधिकारिक सूचना अधिकारी नियुक्त गरेर सूचनालाई व्यवस्थित गरिने छ।’
मन्त्री श्रेष्ठले प्रेस जगतको नियमन जरुरी भए पनि अकंशु लगाउने काम नहुने स्पष्ट पारे। सञ्चार रजिस्ट्रारको कार्यालयले आयोजना गरेको तालिममा २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो।
सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले बागमती प्रदेशको पत्रकारिताको गुणस्तर बद्धिकालागि तालिमको आयोजना गरिएको बताए।
Shares
प्रतिक्रिया