बागमती प्रदेशको भागबण्डा टुंग्याउन बालुवाटारमा बसेको बैठकले पनि बागमती सरकारलाई पूर्णता दिन ठोस निर्णय लिन सकेन। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले पनि सोचेअनुसारको परिणाम निकाल्न नसकेको हो।
बैठकमा सहभागी दुई दलका नेताहरुबीचमै निर्णयको कुरा बाझिएपछि छिट्टै सरकारले पूर्णता पाउला भन्नेमा शंका उब्जिएको छ। बैठकमा सहभागी हुन बालुवाटार पुगेका प्रदेशका अर्थ मन्त्री एवंम् कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामा र एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्णशर्मा खनालबीचमै कुरा बाझिएपछि बालुवाटार बैठक निश्कर्षविहीन भएको हो।
अर्थमन्त्री लामाले मिलेर अघि बढेर मन्त्रालयको लागि हानाथाप भन्दा पनि सरकारलाई स्थिर बनाउन सबै दलहरुलाई मिलेर जान शीर्ष नेताहरूले सुझाव दिएको बताएका छन्।
उनका अनुसार कुन पार्टीलाई कति मन्त्रालय लिनेदिने बिषयको निर्णय प्रदेश आफैंले गर्नुपर्ने शीर्ष तहका नेताहरूले सुझाव दिएका थिए। ६ मन्त्रालयको दावी गरिरहेको कांग्रेस बालुवाटारको बैठक पछि पनि आफ्नो दाबीबाट पछि हट्ने देखिँदैन।
यता, नेकपा एकीकृत समाजवादी बागमती संसदीय नेता खनाल भने सहमती भइसकेको र आउँदो आइतबार नयाँ मन्त्री नियुक्त हुने निर्णय भएको बताउँछन्। उनका अनुसार कांग्रेसलाई ५, माओवादीलाई ४ र एकीकृत समाजवादीलाई २ मन्त्रालयमा शीर्ष नेताहरूले नै सहमती गरिदिएका हुन्।
जसबाट एउटै बैठकमा बसेर फरक निर्णय लिएर आएका कांग्रेस र नेकपा एसको लफडा अझै सकिएको छैन भन्ने प्रष्ट हुन्छ।
नेकपा एस छिट्टै मन्त्री नियुक्त गरेर २ मन्त्रालयमा जान आतुर देखिन्छ भने कांग्रेस समय लम्ब्याएर भएपनि ६ वटै मन्त्रालय हात पार्ने दाउ छोडेको छैन्।
Shares
प्रतिक्रिया