बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। नवनियुक्त मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी भइरहेको छ।
तर यो खबर लेख्दासम्म मन्त्रालय भागबन्डा मिलिसकेको छैन। रिक्त ५ मन्त्रालयमध्ये नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले २ वटा पाउनुपर्ने अडान कायमै राखेका छन्।
यसबीच मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालय फुटाएर भए पनि आज सरकारलाई पूर्णता दिने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ।
अहिले कांग्रेसलाई ५, माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय दिने र बजेटपछि कुनै एउटा मन्त्रालय फुटाएर कांग्रेसको मन्त्री संख्या ६ पुर्याउने तयारी भएको बुझिएको छ।
आन्तरिक विवादकै कारण लामो समयदेखि अपूर्ण रहेको सरकारलाई छिटो पूर्णता दिन केन्द्रले दिएको निर्देशनअनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको नेकपा एकीकृत समाजवदी बागमती संसदीय दलका नेता कृष्ण शर्मा खनालले बताए।
अहिलेसम्म सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय लिइसकेको छ भने कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी र ऊर्जा तथा सिँचाइ मन्त्रालय गरी २ वटा मन्त्रालय पाइसकेको छ।
Shares
प्रतिक्रिया