मकवानपुर जिल्लाको ऐतिहासिक मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्व विभागले जीर्णोद्धार सुरु गरेको हो।
आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरी छानासमेत हाल्ने योजना बनाइएको छ। एक करोड १८ लाख ४३ हजार ९ सय २३ रुपैंया लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।
पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम भैरहेको गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले बताइन्।
यस्तो छ इतिहास
मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेनवंशीय राजखलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन।
तर पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै डा. साफल्य अमात्यको २०२७ मा प्रकाशित प्रतिवेदनले एघारौँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर उल्लेख गरेको छ।
कतिपय इतिहासकारहरुका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो। पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखमा पाइएकालाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ।
सेनहरुको वंशावलीअनुसार विसं १५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुआत गरेका हुन्। मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन्।
खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ।
तर मकवानपुरको अध्ययन गर्न विसं २०२७ मा पुरातत्व विभागका अभिलेख विशेषज्ञ डा. अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ।
Shares
प्रतिक्रिया