सिन्धुली जिल्लामा पर्ने बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउनका लागि अध्ययन गरिएको छ।
शनिबार बिहान प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सहितको टोलीले सम्भाव्यताको अध्ययनका लागि अनुगमन गरेको छ।
मुख्यमन्त्री जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिर्थबहादुर लामा सहितको टोलीले जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १–२ र ३ मा पर्ने बज्रमारा सिंचाइ आयोजनाको अनुगमन गरेका हुन्।
सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्याउन सकिने भन्दै अनुगमन गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री श्रेष्ठले बताए।
यस आयोजनाको डीपीआर समेत तयार भैसकेको मन्त्री श्रेष्ठले बताए। यस बहुवर्षीय आयोजनालाई आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन्।
बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पछाडि अर्थात् ६६ औं नम्बरमा रहेको यस क्षेत्रलाई ५ वर्षभित्र प्रदेशकै नमूना क्षेत्र बनाउने मन्त्री श्रेष्ठले बताए।
उनले बागमती प्रदेश सरकारले मरिण र हरिहरपुरलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरि यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने बताए।
यस्तै, सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गापामा अहिले बगर बनिरहेको लाखौं बिगाह जमिन उकास भई त्यसमा सिँचाइ हुने बताउँदै बज्रमारा सिंचाइ आयोजनाले हरिहरपुरको हजारौं बिगाह सुख्खाग्रस्त जमिनमा सिंचाइ सुविधा पुग्ने मुख्यमन्त्री जम्मकट्टेलले बताए।
Shares
प्रतिक्रिया