काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका विद्यायलमा विद्यार्थी संगठनले लगाएको ताला खोलेको छ। नगर प्रहरी बलले मंगलबार महानगरभित्र पर्ने दुईवटा विद्यालयमा लगाइएको ताला खोलेको हो।
विभिन्न माग राख्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो।
महानगरको वडा नम्बर १५ ठूलो भर्याङमा रहेको संस्कृति इन्टरनेशनल स्कूल र वडा नम्बर ३ मा बाँसबारीमा रहेको युलियन्स स्कूलमा तालाबन्दी भएको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध समेत गरेका छन्।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ। विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ। चाहे त्यो सरकारी होस् वा निजी,’ प्रमुख शाहले भनेका छन्, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ।’
यसअघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिए।
‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ,’ मेयर शाहले भनेका छन्।
यसैगरी, विद्यालयमा राजनीतिक नगर्न अर्कोपटक सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो।
लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेजस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गरिरहेको जनाएको छ।
भिडिओ:
Shares
प्रतिक्रिया