बागमती प्रदेश सभाको संसद कक्ष साँघुरो छ। ११० सदस्यीय प्रदेश सभामा पुरै कुर्सी अटाउन समेत हम्मे हम्मे पर्छ। यही साँघुरो बैठक कक्षबाट प्रदेश सभाले पहिलो कार्यकाल पूरा गर्यो।
दोस्रो कार्यकाल सुरु भएको पनि ५ महिना पूरा भैसकेको छ। तर प्रदेश सभाको नयाँ भवन निर्माणको कामले गति नलिँदा अझै कति समय त्यही भवनमै बित्ने हो अत्तोपत्तो छैन।
२०७६ पुस २७ गते सोही भवनबाट प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय टुङ्गिएसँगै भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश सभा भवन बनाउने प्रक्रिया सुरु गरेको थियो। २०७७ मङ्सिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा भवनको शिलान्यास गरेका थिए।
४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी अर्घाखाँची–सगुन–पारामौउत जोइन्ट भेन्चरले निर्माण गरिरहेको छ। १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा तीन वर्षसम्म पनि सकिएको छैन।
भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएकोमा हालसम्म उक्त भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो। प्रदेशसभा भवनको लगभग ९० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने निर्माण कार्य निकै सुस्त गतिमा चलिरहेको छ।
२५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेश सभा हल तोकिएको समयमा काम सम्पन्न नभएपछि यही जेठ अन्तिमसम्ममा निर्माण पूरा गर्न समय थप गरेको थियो। तर जेठ अन्तिम सम्म अइपुग्दा समेत निर्माणको काम भने सकिएको छैन।
यता, संसद हल नबन्दा बैठक सञ्चालन गर्न कठिन भैरहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्का बताउँछन्। उनका अनुसार नयाँ भवनमा बैठक बस्न थालिएपछि खुल्ला ठाउँमा सहज वातावरण सिर्जना हुनेछ। यतिमात्रै होइन, दर्शकदिर्घादेखि पत्रकारसम्मका लागि सहज हुने सचिव खड्काले बताए।
सांसदलाई रोष्टमसम्म पुग्न सकस
बैठक कक्ष साँघुरो हुँदा सांसदलाई रोष्टमसम्म पुग्न सकस भैरहेको छ। रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेलाई रोष्टमसम्म पुगेर बोल्न सकस भएको हो।
अपाङ्गता भएकी सांसद घिमिरेलाई ह्विल चियर गुडाएर रोष्टमसम्म पुग्न सकस भएपछि उनले अपाङ्गमैत्री बैठक कक्ष नबनेसम्म आफू रोष्टममै नजाने घोषणा नै गरेकी छिन्।
Shares
प्रतिक्रिया