ad ad

बागमती


मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य तथा मादक पदार्थ प्रतिबन्ध

मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य तथा मादक पदार्थ प्रतिबन्ध

नेपालखबर
असार ३१, २०८० आइतबार १२:४७, हेटौँडा

मकवनपुरका तीन स्थानीय तहले १ साउनबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएका हुन्।

हेटौँडा उपमहानगरपालिकाले सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउनका लागि १ साउनबाट अभियान सुरु गरिने बताएको छ।

यस्तै, मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको छ भने बकैया गाउँपालिकाले १ साउनबाट पालिकाभित्र मादक पदार्थको जथाभावी प्रयोग र सूर्तीजन्य पदार्थको प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको जानकारी दिए।

उनले भने, ‘कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरू स्वाभाविक रूपमा प्रयोग गर्न पाइँदैन। हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ।’  

उनले पालिकाभित्र सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनको उल्लंघन गरे दोब्बर सजाय हुने दाबी पनि गरे।

यी तीन स्थानीय निकायले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेका थिए। मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको जनप्रतिनिधिहरुको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .