ad ad

बागमती


गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २२ गैँडा मरे

गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २२ गैँडा मरे

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार २१:२३, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन्। दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए। सो घटनाका अभियुक्त पक्राउ परेको उनले जानकारी दिए।

तिवारीका अनुसार आव २०७५/७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए। त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ।

गत वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो। आव २०७६/७७ मा २६, २०७७/७८ मा ३९ र २०७८/७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन्। यस आवमा २०७२/०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन्। त्यस वर्ष १४ वटा गैँडा मरेका थिए। आव २०७३/०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन्। विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ।

आव २०७३/७४ मा एउटा, २०७७/७८ मा चार वटा र २०७८/७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए। सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मरेका थिए।

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन्। तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए।

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो।

सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .