ad ad

बागमती


भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

नेपालखबर
भदौ २, २०८० शनिबार २१:१, मलेखु (धादिङ)

धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन्। जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ। 

सडक कुनापट्टि र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचना जोखिममा परेका छन्। सडक भाँसिएर चिराचिरा परेको छ।

सिरानबजार क्षेत्रमा आवातजावत गर्नै डरमर्दो भएको छ। भासिएको ठाउँबाट पानीभित्र पसेर सडकमा परेको चिरा बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्। पैदल हिँड्न र गाडी हिँडाउन पनि निकै जोखिम रहेको स्थानीय स्थानीय देवी थापामगरले बताए।

हुन त यसअघि सडक मर्मत नभएको होइन। थोपलखोला किनारबाटै बग्न सुरु गरेको जमिनमा देखावटी मर्मतले बर्सेनि जोखिम बढ्दै गएको हो। भासिन थालेको जमिन नै पत्ता लगाएर मर्मत थाल्नुपर्नेमा माटोले पुरेर तारजाली लगाउने र त्यही माथि कालोपत्र छापिदिने काम भइरहेकाले हरेक वर्ष समस्या दोहोरिएको स्थानीय गणेशकुमार श्रेष्ठको भनाइ छ। 

‘यो बाटो विसं २०७२ मा भूकम्प गएको बेलादेखि भासिन थालेको हो । यसको मर्मतको नाममा दुहुनो गाई पालेजस्तो भएको छ’, श्रेष्ठले भने, ‘बजेट हाल्ने र सिध्याउने काममात्रै भएको छ यसको दीर्घकालीन मर्मत भएन भने ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था छ।’

सडक भासिएको क्षेत्रमा पुरूवा माटो भएका कारण जोखिम झनै बढेको पनि स्थानीयले बताएका छन्। माटोसमेत परीक्षण गरेर दीर्घकालीनरूपमै यसको मर्मत गरिदिन स्थानीयले माग गरेका छन्। साँघुरो स्थानलाई डाइभर्सन गरेर फराकिलो सडक बनाइएका कारण धादिङबेँसीको सिरानबजार चौतारोभन्दा माथिको भागमा पटक–पटक सडक चिरा पर्ने समस्या देखिने गरेको छ।

मुख्यमन्त्रीद्वारा निरीक्षण
भासिएको सडकको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज निरीक्षण गरेका छन्। सिरानबजारमै आयोजित एक कार्यक्रममा सहभागी हुनु आएका मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडकको निरीक्षण गराएका हुन्।

निरीक्षणपछि मुख्यमन्त्री जम्कट्टेलले विपद् कोषको बजेटबाट तत्काल मर्मत गरिदिने बताए। उनले सडक भासिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल मर्मतका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशनसमेत दिए।
 
सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दीर्घकालीन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .