ad ad

बागमती


फोहर व्यवस्थापनमा कोरियाली प्रविधि भित्र्याउँदै धुलिखेल नगरपालिका

फोहर व्यवस्थापनमा कोरियाली प्रविधि भित्र्याउँदै धुलिखेल नगरपालिका

नेपालखबर
भदौ ११, २०८० सोमबार १९:३८, काठमाडौँ

पर्यटकीय नगर धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ। यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ। 

बढ्दो सहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चूनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो। 

यो प्रविधि भेरी नगरमा पनि लागू गर्न भेरीका प्रमुख सिपी घर्तीसँग पनि उक्त अवसरमा कम्पनीले सम्झौता गरेको छ। 

सम्झौतामा दुवै नगरमा कुहिने फोहरलाई मल उत्पादन गरिने उल्लेख गरिएको धुलिखेलका प्रमुख ब्याञ्जूले बताए। ‘फोहर व्यवस्थापनमा कोरियाली प्रविधि लागू गरेपछि कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान पुग्नेछ’, उनले भने। 

उनका अनुसार औद्योगिक मुलुक कोरियामा ऊर्जाको चरम सङ्कट भएकाले हाल ६० प्रतिशत कोइला, ग्यास र न्युकिलियर प्लान्टबाट बिजुली उत्पादन गर्दै आएको छ। यस्तै कोरियाले छ प्रतिशत मात्रै बिजुली पानीबाट उत्पादन गर्दै आएको छ। 
    

नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन निर्माण गरेको धुलिखेलले नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाउँदै हाल ७० प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको छ। दिसाजन्य फोहरबाट ग्यास र मल बनाउनसमेत योजना सुरु गरिएको ब्याञ्जूले बताए।

शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरेको छ।
    
वृक्षरोपण अभियानअन्तर्गत धुलिखेलले हाल यस वर्ष ५० हजार बिरुवा रोपिसकेको छ। पाँच वर्षमा पाँच लाख बिरुवा रोपण गर्ने योजना बनाएको नगरले ‘ग्रीन, क्लिन–हेल्दी सिटी’को अवधारणासमेत ल्याएको छ।

१२ वडा रहेको धुलिखेलका क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको हो। 

विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ। यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ। 

रोपिएका सबै बिरुवामा जीपीएस् (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने नगरले जनाएको छ। 

‘अब रोपिएका बिरुवामा सबै बिरुवामा जीपीएस् जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ’, नगरप्रमुख ब्याञ्जूले भने। उनका अनुसार यो प्रविधि धुलिखेल र नेपालकै लागि नमूना मानिएको छ। 

रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ। बिरुवाको अवस्था स्वभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ।

नगरप्रमुख ब्याञ्जूले वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको बताए।

धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो। सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ।

नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .