असोज महिनाको घमाइलो मौसम। त्यसमा पनि शनिबारको दिन। विद्यालय छुट्टीले मनमा एकप्रकारको चञ्चलता। अर्कोतिर दिनभरमा कति पैसा जम्मा गर्न सकिएला भन्ने पीर। हरेक हप्ताको शनिबार विहानैदेखि १३ वर्षका अर्जुन भोम्जनलाई यस्तै चटारो सुरु हुन्छ। अनि सबेरै, आफ्ना भाइहरू बटुलेर लाग्छन् घर नजिकैको जंगलतर्फ।
मकवानपुरको हेटौंडा ११ शहिद स्मारक नजिकैको रुम्बाटोलका अर्जुनसँगै उनका साथीहरू जंगलमा पुगेर एक मुठा थाकलको डाँठ बटुलेर ल्याउँछन्। थाकलको पातबाट आकर्षक फूलबुट्टाहरू बनाएर बेच्दै पैसा कमाउँदै आएका छन्।
‘हामी सबै शनिबार यसरी नै थाकल खोजेर ल्याएर स्मारकमा आउँछौं’ अर्जुनले मुसुक्क हाँस्दै भने, ‘दिनभरी यही बनाएर बेच्छौं। भात पनि यतै खान्छौं। पिकनिक आउनेहरूले खानेकुराहरू दिनुहुन्छ।’
अरु ६ दिन विद्यालय जाने अर्जुन आफ्नो विद्यालय खर्च जुटाउनका लागि हरेक शनिबार यस्तो बनाउने काम गर्दै आएको बताउँछन्।
‘घरमा सानो भाइ पनि छ। आमा त भाइ सानो हुँदै बित्नुभएको रे,’ भावुक हुँदै उनले भने, ‘बुवा त हुनुहुन्छ। तर कापी कलम किन्नको लागि अनि मन लागेको खानेकुरा किनेर खानको लागि यस्तो बनाउने गरेको छु।’
हातमा थाकलको पातहरू बुनेर विभिन्न आकर्षक रुप दिइरहेका अर्जुन आफ्ना रंगिन सपनाहरू सजाउनका लागि औंला चलाइरहेका थिए। उनलाई साथ दिइरहेका छन् भाइ पर्ने १० वर्षीय रितेश स्याङ्तान।
हातमा सानो कैंची लिएर थाकलका टुप्पाहरू छाँटिरहेका रितेश बेला बेलामा आफ्ना गोजीमा जम्मा भएको पैसामा पनि हात पुर्याइरहेका थिए। आफूले लगाएकोे टि–सर्ट मैलो भएपनि मन चकिलो पार्दै काममा व्यस्त देखिएका रितेश बेला बेलामा अर्जुनसँग साउती मार्दै भन्दै थिए, ‘ओइ तैंले कतिवटा बेचिस्? मेरो त तीनवटा बेचेर ९० रुप्याँ भैसक्यो।’
घामले तातिएर रातो भएको गाला तनक्क तन्काउँदै रितेशले अर्जुनलाई आफ्नो आधा दिनको कमाइको हिसाब सुनाउँदै थिए।
‘सादा बुट्टा मात्रै बनाउने हो भने २५ देखि ३० रुपैयाँ सम्ममा बेच्छौं। नाम लेखेर बनाउने हो भने ५० रुपैया पर्छ’ रितेशले भने।
दिनभरमा २ सयदेखि ३ सय रुपैयाँसम्म कमाउने गरेको उनीहरू सुनाउँछन्।
यो पैसाले के गर्ने त? एउटा बुट्टा कुदिएको थाकलको हाँगा किन्दै एक आन्तरिक पर्यटकले गरेको प्रश्नमा दुवैजनाले एकै स्वरमा उत्तर दिए, ‘हो हप्ता र अब आउने हप्ताको शनिबारको पैसा जम्मा गरेर दसैँको नयाँ लुगा किन्ने हो।’
दसैँको नयाँ कपडा किन्नको लागि आफूहरूले अघिल्लो हप्ताको केही रकम समेत नमासी राखेको उनीहरूले बताए। उमेर १५ वर्ष पनि नपुगेका उनीहरू ७ वर्षको उमेरदेखि नै यस्तो बनाउने गरेको अनुभव सुनाउँछन्।
‘पहिला पहिला चाहिँ हाम्रो सलिना दिदी र सरु दिदीले सिकाउनु भएको हो। उहाँहरूले पनि बनाउनुहुन्थ्यो। अनि मलाई मेरो ममीले पनि सिकाइदिनु भको हो,’ रितेशले भने।’
त्यसो त, हेटौंडा ११ मा रहेको रहेको शहिद स्मारक मकवानपुर आसपासका जिल्ला तथा मधेश प्रदेश लगाएत देशभरका आन्तरिक पर्यटकहरूको गन्तव्यको रुपमा विकास भैरहको छ।
साना हातहरूले बनाएका आकर्षक थाकल प्रायः पर्यटकहरूको रोजाइमा पर्ने गरेका छन् भने केही पर्यटकहरूले बालबालिकाको सीपको कदर गर्दै किनिदिने गरेका छन्।
हेर्दा पनि चटक्क परेको थाकल चिनोको रुपमा घर लैजाने, साथीहरूलाई उपहार लगिदिने जस्ता कार्यका लागि पर्यटकहरूको रोजाइ बन्न पुगेको छ थाकलका सामग्री।
Shares
प्रतिक्रिया