आज (बिहीबार) काठमाडौँ उपत्यका यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाका न्यूनतम र अधिकतम दुवै तापक्रम यस वर्षमा अहिलेसम्मकै कम भएको हो।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो भने अधिकतम तापक्रम १६.६ डिग्री सेल्सियस पुगेको हो।
महाशाखाका मौसमविद् रोजन लामिछानेले यी दुवै तापक्रम यस वर्षअन्तर्गत उपत्यकाका लागि अहिलेसम्मकै कम भएको बताए।
‘यसअघि न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियसम्म झेको थियो भने अधिकतम १७.० डिग्री सेल्सियससम्म पुगेको थियो’, उनले भने, ‘त्यसैले उपत्यकामा आज दुवै (न्यूनतम र अधिकतम) तापक्रम यो वर्षअन्तर्गत अहिलेसम्मकै कम हो।’
दुवै तापक्रम तल झरेकाले काठमाडौँ उपत्यकामा बिहान–बेलुकै चिसो ह्वात्तै बढेको छ।
मौसमविद् लामिछानेका अनुसार आगामी दिनमा तापक्रम अझै ओरालो लाग्दै जाने सम्भावना छ।
Shares
प्रतिक्रिया