केही दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम क्रमिक रूपमा बढिरहेको छ।
यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम मौसमविद्ले अनुमान गरेभन्दा पनि माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज उपत्यकाको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियस पुगेको हो।
महाशाखाका मौसमविद्ले भने आज काठमाडौँ उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म मात्र पुग्ने अनुमान गरेका थिए। शुक्रबार (हिजो) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस थियो।
यस्तै आज उपत्यकाको न्यूनतम तापक्रमचाहिँ ४.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार (हिजो) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.२ डिग्री सेल्सियस थियो।
मौसमविद् सरोज पुडासैनीका अनुसार केही दिनयता अधिकतम तापक्रम क्रमिक रूपमा बिस्तारै बढिरहेको भए पनि न्यूनतम तापक्रममा खासै परिवर्तन आएको छैन।
‘अहिले पनि बिहान–बिहान अलि चिसै छ’, उनले भने, ‘न्यूनतम तापक्रम नबढ्दा चिसो घट्दैन।’
मौसमविद् पुडासैनीका अनुसार राति आकाशमा बादल लागेन, मौसम सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ अथवा बढ्न पाउँदैन। अचेल राति आकाश सफा रहेकाले न्यूनतम तापक्रम खासै नबढेको उनको भनाइ छ।
तर यसको ठीक उल्टो दिउँसो आकाशमा बादल लागेन, मौसम सफा भयो र दिनभर घाम लाग्यो भने अधिकतम तापक्रम बढ्छ। यसैले हिजोआज दिउँसो जाडो कम हुँदै गएको मौसमविद् पुडासैनीको भनाइ छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया