बुधबार बिहान धादिङस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका सातै जनाको सनाखत भएको छ।
मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अली र सराजुद्दिन मुसलमान छन्।
रुपन्देहीबाट काठमाडाैँ आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३८ जनाको उद्धार गरिएको छ।
प्रहरीका अनुसार बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्।
उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कर्यलय धादिङका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।
Shares
प्रतिक्रिया