नेकपा माओवादी केन्द्र बागमती संसदीय दलको बैठक बुधबार काठमाडौंमा बस्यो।
दिउँसो १ बजेतिर सुरु भएको बैठक साँझ ५ बजेतिर मात्रै सकियो।
माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको आतिथ्यतामा बसेको बैठकमा प्रदेश सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डासम्मको कुरा उठ्यो।
प्रदेशमा माओवादीकै नेतृत्व कायम राख्न केन्द्रमा पहल गरिदिन माओवादी बागमती संसदीय दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उपाध्यक्ष सापकोटालाई आग्रह गरे।
यता, बैठकमा सहभागी सांसदहरुले हाल रहेका मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठाएको बैठकमा सहभागी एक सांसदले बताए।
उनका अनुसार बागमतीको नेतृत्व माओवादीले नै पाए पनि हाल रहेका तीन मन्त्री परिवर्तन गरेर नयाँ अनुहार पठाउनु पर्ने आवाज उठेको हो।
‘प्रदेशको नेतृत्वमा हाम्रै दलले पाउनुपर्नेमा केन्द्रमा दबाव दिऔँ। नेतृत्व नफेरिएपनि अब मन्त्रीपरिषद्र बिस्तार गर्दा हाम्रा भएका मन्त्रीहरु परिवर्तन गर्नुपर्छ। नयाँ अनुहारलाई पालो दिुपपर्छ भन्ने कुरा उठेको हो,’ ती सांसदले नेपालखबरसँग भने।
माओवादी बागमती प्रदेशका सचेतक रत्न प्रसाद ढकालका अनुसार बैठकमा समसामायिक राजनीतिक बिषयमा छलफल भएको बताएका छन्।
हाल नयाँ सत्ता समीकरण फेरबदलले पारेको संकट कसरी टार्न सकिन्छ? प्रदेशमा माओवादीकै नेतृत्व टिकाउनका लागि के गर्ने भन्ने बिषयमा छलफल भएको सचेतक ढकालले जानकारी दिए।
‘केन्द्रमा माओवादीको नेतृत्व नफेरिए जसरी नै बागमती प्रदेशको नेतृत्व पनि मुख्यमन्त्री जम्मकट्टेलले पाउने वातावरण मिलाउन पहल गरिदिन उपाध्यक्ष ज्यूलाई अनुरोध गरियो। बैठकमा समसामायिक बिषयमै केन्द्रित रहेर छलफल भयो,’ सचेतक ढकालले भने।
मन्त्री हेरफेरको बिषयमा उठेका प्रश्नलाई उपाध्यक्ष सापकोटाले कस्तो जवाफ दिनुभयो? नेपालखबरको यो प्रश्नमा सचेतक ढकालले यो बिषयमा केन्द्रले प्रदेशको नेतृत्वको बिषय टुंगो लगाएपछि मात्रै छलफल गरौंला भन्ने जवाफ दिएको बताए।
बागमतीमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सहित भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ छन्। मन्त्री श्रेष्ठ नेपाल समाजवादी पार्टीका सहअध्यक्षसमेत हुन्।
तर उनले सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्य निर्वाचन जितेका थिए।
Shares
प्रतिक्रिया