देशका विभिन्न स्थानसँगै आज (आइतबार) काठमाडौँ उपत्यकामा पनि सामान्य हावाहुरीको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोदेखि साँझसम्ममा सामान्य खालको हावाहुरी आउने सम्भावना देखिएको हो।
‘दिउँसो १२/१ बजेपछि हावाहुरी आउने सम्भावना देखिएको छ, त्यस्तो ठूलो खालको होइन, सामान्य हावाभन्दा अलि बढी गतिको हावाहुरी आउने सम्भावना देखिएको हो’, उनले भने, ‘दिउँसोदेखि साँझसम्ममा हावाहुरी आउने देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले आज कोसी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसहित तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको जनाएको छ।
यस्तै आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि देखाइएको छ।
तर आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जनाइएको छ। यसको अर्थ आकाशमा अलिअलि बादल लागे पनि घाम लाग्नेछ।
यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस देखिएको मौसमविद् लामिछानेले जानकारी दिए। उपत्यकाको अधिकतम तापक्रम भने आज ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
मौसम महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५:४७ बजे सूर्य उदाएको थियो भने अब साँझ ६:२५ बजे अस्ताउनेछ।
Shares
प्रतिक्रिया