आज (शनिबार) देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार दिउँसोदेखि साँझसम्म काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको हो।
‘दिउँसो २/३ बजेपछि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने, ‘अलिअलि हावाहुरी पनि चल्ने सम्भावना छ।’
अहिले भने काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि मात्र बादल रहेको तर मध्याह्नपछि बादल बढ्दै जाने अनुमान रहेको मौसमविद् अर्यालले बताए।
‘आज पनि काठमाडौँ उपत्यकाको भिजिबिलिटी राम्रो छैन, ३५ सय मिटर मात्र छ’, उनले भने, ‘तुवाँलो लाग्ने क्रम जारी छ।’
आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस देखिएको उनले बताए। अधिकतम तापक्रम भने २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५ बजेर ४१ मिनेटमा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर २८ मिनेटमा अस्ताउनेछ।
Shares
प्रतिक्रिया