आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा पनि छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना अलि कम नै छ तर भयो भने क्षणिक खालको छिटपुटदेखि हल्का वर्षा हुनसक्छ,’ उनले भनिन्।
मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत रहेको देखाएको छ।
अहिले प्रिमनसुन सिजन भएकाले वर्षा भयो भने सँगै मेघगर्जन र हावाहुरीको सम्भावना पनि रहने उनले बताइन्।
देशव्यापी रूपमा राम्रोसँग वर्षा नभएकाले काठमाडौँ उपत्यकामा तुवाँलो लाग्ने क्रम जारी रहेको जानकारी पनि मौसमविद् मानन्धरले दिइन्।
‘आज बिहान पनि काठमाडौँ उपत्यकाको भिजिबिलिटी २५ सय मिटर मात्र थियो’, उनले भनिन्, ‘तुवाँलो लाग्ने क्रम जारी छ।’
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली हुनेछ।
यस क्रममा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
यसैगरी आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया