बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले लोकतान्त्रिक शासन व्यवस्था जननिर्वाचित प्रतिनिधिबाट सञ्चालन सुन्दर प्रणाली भएको बताएका छन्।
मंगलबार लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले अझ लोकतान्त्रिक आचरण, विश्वास र भरोसा जगाई लोकतन्त्रलाई सार्थकता प्रदान गर्न सबै पक्ष दृढताका साथ सदैव क्रियाशील रहनुपर्ने बताएका हुन्।
प्रमुख शर्माले वैशाख ११ लाई नेपाली जनताको लामो संघर्ष र बलिदानको फलस्वरूप लोकतन्त्र स्थापना भएको दिनका रूपमा उल्लेख गर्दै यो व्यवस्था प्राप्त गर्न आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति सम्मान व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘जीवनलाई लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु।’
विसं. २०६२/०६३ जनआन्दोलन सफल भई नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक र गौरवमय दिनका रूपमा यो दिवस मनाउने गरिएको हो।
प्रदेश प्रमुख शर्माले अहिले हामीले उपयोग गरिरहेको स्वतन्त्रताको अधिकार विगतका विभिन्न कालखण्डमा नेपाली सपुतहरूको संघर्ष तथा बलिदानको प्रतिफल भएको उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया