ad ad

बागमती


विपरीत दिशाका २ बस त्रिशूलीमा कसरी खसे एकसाथ? यसो भन्छन् पौडिएर बाँच्न सफल सुरज

विपरीत दिशाका २ बस त्रिशूलीमा कसरी खसे एकसाथ? यसो भन्छन् पौडिएर बाँच्न सफल सुरज

फाइल तस्बिर : दुर्घटनास्थल


सुनिता विष्ट
असार ३०, २०८१ आइतबार १४:४२, हेटौँडा

गत बिहीबार (असार २७) साँझ काठमाडौँको कंलकीबाट बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस राैतहट गौरका लागि छुट्यो। 

उक्त गणपति डिलक्स बसमा काठमाडौँका विभिन्न स्थानबाट गौरसहित रौतहटका विभिन्न स्थानमा जाने यात्रु चढेका थिए। 

झमझम परेको पानीले बसको गति त्यति तीव्र थिएन, जति मौसम सफा हुँदा हुन्थ्यो। कंलकीबाट साँझ ७ः३० बजेतिर छुटेको बस रातको १ बजेतिर मुग्लिननजिकको होटलमा रोकियो। 

बसमा सवार यात्रुहरूले शौच गरे। चिया-नास्ता खाए।

पौडिएर बाँच्न सफल ३ यात्रुमध्ये एक रौतहटको गरुडा नगरपालिका-३ का सुरज गुप्ताका अनुसार बिहान ३ बजेतिर उनी सवार बस गणपति डिलक्स नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलताल आइपुगेको थियो। जहाँ माथिबाट बगेको लेदोमाटो खसिरहेको थियो। बस त्यसमा फस्यो। अगाडि बढ्न सकेन। 

त्यही बेला विपरीत दिशा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स बस पनि आइपुग्यो। त्यो बस पनि हिलोमा फस्यो, अघि बढ्न सकेन। अर्थात् दुवै बस एकै ठाउँमा अड्किए। 

गणपति बसका यात्रु २६ वर्षीय सुरजका अनुसार उनी अन्तिमतिरको सिटमा थिए। अगाडिको सिटमा उनको परिवार थिए। बसका प्रायः यात्रु निदाइरहेका थिए। सुरज भने फिल्म हेर्दै थिए। वर्षाका बेला ठाउँठाउँमा पहिरोका कारण सानोतिनो जाम छिचोल्दै छिचोल्दै यहाँसम्म आइपुगेको बस रोकिँदा उनलाई त्यति अनौठो लागेन।

तर उनको ध्यान फिल्मबाट तब मोडियो, जब बस असामान्य तरिकाले हल्लियो।

त्यो क्षण सम्झिँदै उनले आइतबार नेपालखबरसँग भने, ‘बस बेस्सरी हल्लियो। चिप्लिएको जस्तो फिल भइरहेथ्यो। हामी चढेकै बसको साइडमा अर्को बस थियो। हामी भित्तापट्टिको साइडमा र अर्को बस छेउपट्टि भेट भएको याद छ मलाई। बस हल्लिन थालेपछि मात्रै पहिरोमा फसेको भन्ने थाहा भयो।’ 

उनी अगाडि सुनाउँछन्, ‘हामी चढेको बसको छेउ साइडमा रहेको अर्को बस पनि हिलोमा फसेजस्तो लाग्या थियो। हामी चढेको बस पनि केही बेर त्यहीँ रोकिएको थियो। भित्ताबाट आएको लेदो र बाढीले हामी चढेको बस बेस्सरी हल्लायो। ननिदाएकाहरू आत्तिएर कराउन थाले। निदाएकाहरू पनि बिउँझिए। सबै जना राम राम, हे भगवान् भनेर कराउन थाल्यौँ। बस चिप्लिएजस्तो भएर गुल्टिन सुरु भइहाल्यो। दुवै बस सँगै भेटिएका थिए। मलाई लाग्छ- सायद हामी चढेको बसलाई पहिरोले धकेल्यो, हाम्रो बसले अर्को बसलाई धकेलेर खोलामा ओइरियो।’

स्वर मलिन पार्दै सरोज थप्छन्, ‘अर्को बस पनि खोलामै झरेको त पानीमा पौडिएर माथि आएपछि मात्रै चाल पाएँ। मेरो दिदी जिजु, आमा बाबु सबै गुमाएँ मैलै।’

उक्त बसका यात्रुमध्ये उनीसहित तीन जनाले पौडिएर ज्यान जोगाउने अवसर पाएका हुन्। उनीसँगै रौतहटको देवाहीगोनाही नगरपालिका-१ का नन्दन यादव र रौतहटकै गरुडा नगरपालिका-९ का जुगेश्वर यादवले पनि बाँच्ने सौभाग्य पाएका हुन्। 

सडक डिभिजन कार्यालय चितवन भने सिमलताल पहिरोका हिसाबले त्यति खतरा नमानिने स्थान भएको दाबी गर्दै यति ठूलो दुर्घटना भएकामा आश्चर्य प्रकट गर्छ। 

पहिरोले बस बगाएको स्थान पहिरोको जोखिमपूर्ण क्षेत्र नभएको जिकिर गर्दै डिभिजन प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेल भन्छन्, ‘गाडी खसेको भनेको ठाउँमा हामीले सडक विस्तार गर्दा पहाड काटेको ठाउँ होइन। सडक बढाएको ठाउँ पनि होइन। तर त्यस ठाउँभन्दा माथिबाट शाखा सडक खनिएको कारण पहिरो गएको हुनसक्ने आंकलन हामीले गरेका छौँ।’

उनका अनुसार घटनाबारे सबै सरोकारवाला निकायले अनुसन्धान गरिरहेका छन्।

शुक्रबार बिहान ३ बजेतिर सिमलताल भन्ने ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस यो सामग्री तयार पार्दासम्म भेटिएका छैनन्। तर ती बसका यात्रुमध्ये ५ जनाको शव फेला परिसकेको छ। 

दुई बस र बाँकी यात्रुको खोजी जारी छ। 

खोजीमा सशस्त्र प्रहरी, नेपाली सेना,  नेपाल प्रहरी, गोताखोर टोलीलगायत निरन्तर खटिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .