गत वैशाख ३० गते स्थानीय तह निर्वाचन र मंसिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए। चुनावमा मत आफ्ना पक्षमा तान्न राजनीतिक दलका नेताहरूले मतदाताका घरदैलोमा पुगी विभिन्न आश्वासन बाँड्न कुनै कसर बाँकी राखेनन्। शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारजस्ता नारालाई चुनावी एजेन्डा बनाएका उनीहरूले आफ्ना वाचा भुले कि सम्झिँदै छन्? तर मकवानपुरस्थित हेटौंडा-११ का बासिन्दाले चुनाव जितेको भोलिपल्टैबाट आफ्नो टोलको खानेपानी समस्या समाधान गरिदिन्छु भनेर नेताहरूले गरेको वाचा भुलेका छैनन्। बरु त्यसो भन्ने नेताहरू चुनावपछि गाउँ नफर्किएको दुखेसो स्थानीयले गरेका छन्।
बागमती प्रदेशको राजधानी हेटौँडाकै नागरिक धाराको पानी पिउनबाट वञ्चित छन् भन्दा अचम्म लाग्न सक्छ। तर हेटौंडा बजारबाट डेढ किलोमिटर मात्रै पर हेटौँडा–११ का सिमलटार, तल्लो थानाभर्याङ, माख्लो थानाभर्याङ, गोल्पिङटार र सागरपथ टोलमा खानेपानीका लागि अहिलेसम्म धाराको व्यवस्था हुन सकेको छैन।
विशेषगरी सुकुमवासी परिवारको बसोबास रहेको ती टोलका ५ हजारभन्दा धेरै घरधुरीका नागरिक अहिलेसम्म जमिनमुनिबाट तानेको ट्युबेलको पानीले जीवन धान्न बाध्य छन्। यसअघिका थुप्रै निर्वाचनमा पनि खानेपानीको धारो ल्याइदिन्छु भनेर धेरैले आश्वासन दिए, तर अहिलेसम्म समस्या समाधान गर्नेतर्फ कसैले चासो दिएका छैनन्।
‘हामी यो ठाउँमा बस्न थालेको १०/१२ वर्ष भयो। तर पाइपमा खानेपानी आउँछ भन्ने गरेको पनि धेरै भइसक्यो। खै अहिलेसम्म खानेपानी आउने सुरसार नै छैन’, स्थानीय ५५ वर्षीया कान्छीमाया श्रेष्ठले गुनासो गरिन्, ‘चुनावमा पानी ल्याइदिन्छौँ भन्नेको लर्को लाग्योे, जितेपछि कसैले पनि फर्केर हेरेका छैनन्।’
स्थानीयका अनुसार ४० देखि ५० फिटसम्म तलबाट तानेको ट्युबबेलको नमीठो पानी नै पिउनुपर्ने बाध्यता छ। कपडा धुन, भाडा माझ्न पनि त्यही पानी प्रयोग गर्ने गरिएको स्थानीय बताउँछन्।
हेटौँडा उपमहानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा हेटौँडाका नागरिकलाई वर्षमा १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको भए पनि ती टोलमा अहिलेसम्म खानेपानीका पाइपसमेत पुर्याउन नसकेको हो।
त्यसो त खानेपानी ल्याउन टोल विकास संस्थाहरूले पनि पहल गरिरहेको सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापामगरले बताए। लामो प्रयासपछि अब भने केही वर्षभित्र खानेपानीका पाइप टोलटोलमा पुर्याउन खानेपानी बोर्डमार्फत काम सुरु गर्ने तयारी भइरहेको थापामगरको भनाइ छ।
यता, दशकौँदेखि खानेपानीको समस्या भोगिरहेका उनीहरूका लागि उपमहानगरपालिकाले अबको केही समयमा धारो ल्याउने पहलमा जुटिरहेको बताएको छ। यसअघि उक्त समस्या हल गर्न नसकेको स्वीकार गर्दै अब भने खानेपानी ल्याउन काम अघि बढिसकेको हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहाल बताउँछिन्।
‘११ नम्बर वडाकै ठूलो समस्याका रूपमा रहेको थानाभर्याङ आसपासमा खानेपानी छिट्टै उपलब्ध गराउने तयारीमा उपमहानगरपालिका लागिपरेको छ’, दाहालले भनिन्।
उक्त स्थानको खानेपानी समस्या हल गर्न सर्वेक्षण गरिएको खानेपानी व्यवस्थापन बोर्ड (हेटौँडा) का कार्यालय प्रमुख सुदर्शन ढकालले बताए। डीपीआर निर्माण गरेर संघीय सरकारको ७० प्रतिशत लगानी र बोर्डको ३० प्रतिशत लगानीमा काम सुरु गर्ने निर्णयसँगै २०८५ सालसम्ममा पानीको धारो उपलब्ध गराउने बोर्डको दाबी छ। संघीय सरकार र बोर्डको समझदारीमा उक्त स्थानसहित हेटौँडाका अन्य वडामा पनि खानेपानी उपलब्ध गराउने दाबी गरिएको छ।
Shares
प्रतिक्रिया