ad ad

ब्लग


बेइजिङको निलो आकाश, काठमाडौंको टल्किने हिमाल

बेइजिङको निलो आकाश, काठमाडौंको टल्किने हिमाल

चेतनाथ आचार्य
पुस २२, २०७७ बुधबार १५:३,

दुई दिनदेखि वायु प्रदूषणले आक्रान्त काठमाडौँ बुधबार बेलुकाबाट खुलेको छ। बुधबार साँझ काठमाडौं वरिपरिका डाँडामा हिमाल देखिएपछि त्यसलाई प्रदूषण हटेको एउटा प्रमाण मानियो। एकाएक कसरी काठमाडौंको प्रदूषण डरलाग्दो अवस्थनामा पुग्यो भनेर नेपाली सञ्चारमाध्यमले प्राथमिकताका साथ खबर सम्प्रेषण गरेका छन्। सडक विस्तार, खानेपानी र ढलको पाइप बिच्छ्याउन खन्ने कार्य, समयमा नसकिने पूर्वाधारका परियोजना, अत्यन्त कम गुणस्तरका सडक मर्मत र पिच गर्ने कामले काठमाडौँलाई हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे बनाउने गरेको छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा काठमाडौँलाई मन्दिरैमन्दिरको सहर र ऐतिहासिक साँस्कृतिक सम्पदाले भरिपूर्ण सुन्दर सहर भनेर चिनिन्थ्यो। तर अहिले त्यो पहिचान एकादेशको कथा जस्तो भएको छ। देशको राजधानी, एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विदेशी पाहुना सोझै आइपुग्ने ठाउँ तर अव्यवस्थित विकास र विभिन्न सरकारी निकायबीचको सून्य समन्वयका कारण काठमाडौँले कुरुप सहरको पहिचान बनाउँदै छ। असल नेता र सरकारी ऐनकानुनको सही कार्यान्वयन हुने हो भने काठमाडौँलाई स्वच्छ बनाउन धेरै समय लाग्दैन। छिमेकी मुलुक चीनले राजधानी बेइजिङलाई ८ वर्षमै कसरी स्वच्छ बनाएको छ भनेर अनुभव लिन सक्छ नेपालले।

अहिलेको बेइजिङ ८ वर्ष अगाडि कस्तो थियो भन्ने कुराको चर्चा गरौँ। चीनका प्रधानमन्त्री ली खछ्याङले सन् २०१४ को चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनमा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गरिबी र प्रदूषण चीनका मुख्य शत्रु रहेको घोषणा गरेका थिए। सो सरकारी प्रतिवेदन सन् २०१३ मा सी चिनफिङ राष्ट्रपति भएपछि आएको पहिलो सरकारी प्रतिवेदन थियो। घोषणा अनुसार चीनका मुख्य दुईवटा सत्रुमध्ये गरिबीलाई सन् २०२० भित्र चीनले निमिट्यान्न बनाएको छ भने प्रदूषणलाई पूरै नियन्त्रण गर्न चीनलाई अझै केही समय लाग्नेछ। यद्यपि विगत ८ वर्षमा बेइजिङको प्रदूषण निकै स्वच्छ भइसकेको छ। हिजोआज अधिकांश दिनमा बेइजिङबाट निलो आकाश देख्न सकिन्छ। बेइजिङ वातावरण संरक्षण ब्युरोले सन् २०१३ मा बेइजिङ ५८ दिनसम्म अत्यधिक प्रदूषित भएको उल्लेख गरेको थियो। सोही वर्ष वातावरण अनुगमन गर्नका लागि बेइजिङ शहरभित्र पैँतीसवटा वायु गुणस्तर
अनुगमन स्टेशन स्थापना गरिएका थिए।

सन् २०१४ को फेब्रुअरीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले बेइजिङको निरीक्षण गर्दै वायु गुणस्तरको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने निर्देशन दिएका थिए। उनले कोइला, कार, व्यवसायको प्रदूषणलाई कडा नियन्त्रणमा राख्न निर्देश दिँदै बेइजिङ र आसपासका क्षेत्रले संयुक्त रुपमा वायु प्रदूषणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न भनेका थिए। सन् २०१३/१४ तिर जाडो मौसम सुरु भएसँगै बेइजिङलाई प्रदूषणको तुवाँलोले दिउँसै रात पारिदिन्थ्यो। २० मिटरको दूरीमा रहेको कुनै पनि आकृति देख्न सकिन्नथ्यो। प्रदूषणका कारण शिशु विद्यालयलाई हप्तौँसम्म विदा दिनु परेको थियो भने अत्यधिक प्रदूषण भएका दिनमा सार्वजनिक विदा दिन सरकार बाध्य भएको थियो।

सन् २०१६ को अन्ततिर बेइजिङ नगरपालिकाले प्रदूषण नियन्त्रण गर्न छुट्टै प्रहरी फोर्स समेत परिचालन गरेको थियो। आफ्नो क्षेत्रमा पर्ने सबै कार्यालयमा कर्मचारीहरूलाई मास्क लगाउन उर्दी जारी गरेको थियो। प्रदूषणबाट जोगिन जारी गरिएको उक्त निर्देशनसँगै प्रायजसो सरकारी कार्यालयभित्र हावा सुद्धीकरण गर्ने मेसिन राखिएका थिए। प्राथमिक विद्यालयहरूमा अनिवार्य रूपमा यस्तो मेसिन जडान गर्न भनिएको थियो। हावा शुद्धीकरणका मेसिनले कोठाभित्र भएको हावाबाट पीएम २.५ र पीएम १० लाई छानेर शुद्ध बनाउने गर्छ। त्यति मात्र नभएर प्रदूषण नियन्त्रण शक्ति नाम दिइएको उक्त प्रहरी फोर्सले बेइजिङ सहरमा खुला ठाउँमा सेकुवा बनाउने कार्य, अव्यवस्थित फोहोरमैला, आवास तथा सहर र उद्योगधन्दाबाट निष्कासित पदार्थ जलाउने कार्य र सडकको धूलो नियन्त्रण गर्ने कार्याधिकार प्राप्त गरेको थियो।

विशेष गरी जाडो याममा बेइजिङमा प्रदूषण बढ्नुको मुख्य कारण हिटिङ सिस्टम (तातो बनाउने प्रणाली) हो। पहिले प्राय कोइलाबाट संचालन हुने हिटिङ सिस्टमहरु अहिले डिजेल तथा विद्युतबाट संचलान हुन्छन्। बेइजिङ नगरपालिकाले सन् २०१७ मै कोइलाको प्रयोगलाई ३० प्रतिशत कटौती गरेको थियो। सो निर्णयले वार्षिक लगभग ७० लाख टन कोइलाको प्रयोग कटौती भएको बेइजिङ नगरपालिकाले जनाएको छ।

जाडो याममा बेइजिङको वायुको गुणस्तर सूचक ३ सयभन्दा माथि पुग्ने गर्दथ्यो। अन्य समयमा पनि सामान्यतः बेइजिङको वायुको गुणस्तर सूचक १ सय ५० देखि २ सयबीचमा रहन्थ्यो। वायुको गुणस्तर सूचक निकाल्दा हावामा पिएम अर्थात् पार्टिकुलेट म्याटर कति छ भनेर हेरिन्छ। पिएम १० भनेको ठूला कणहरुले हावालाई प्रदूषित गर्ने हो जो सास फेर्दा सामान्यत नाकभित्रका रौँले हावालाई फिल्टर गर्दछ तर २.५ अत्यन्त सूक्ष्म कण भएकाले सोझै फोक्सोमा पुग्छ र मान्छेको स्वास्थ्यमा प्रतिकूल असर गर्छ। हावामा जति कम पिएम २.५ भयो त्यति स्वच्छ मानिन्छ र जति बढी भयो उति प्रदूषित। हावाको गुणस्तर सूचक शून्यदेखि ५० सम्मलाई स्वच्छ मानिन्छ भने ५१ देखि १०० सम्मलाई मध्यम। यो अवस्थामा वायुमा खासै प्रदूषण हुँदैन। १०१ देखि १५० मा रहेको वायुको गुणस्तर सूचकलाई सामान्य प्रदूषण मानिन्छ। १५१ देखि २०० सम्मलाई अस्वस्थ मानिन्छ जसले विशेष संवेदनशील समूह अर्थात् बालबच्चा र वृद्धवृद्धा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिलाई हानि पु‍र्‍याउँछ।

२०१ देखि ३०० सम्मको वायुको गुणस्तर सूचकलाई अति अस्वस्थ मानिन्छ जसले जोसुकैको स्वास्थ्यमा प्रतिकूल असर पु‍र्‍याउँछ। अति प्रदूषित भएको बेला बेइजिङको हावाको गुणस्तर सूचक साढे तीन सयभन्दा माथि पनि पुगेको थियो। यस्तो अवस्थामा सरकारले खतराको संकेत जारी गरेर अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन चेतावनी दिइन्थ्यो। यसरी चेतावनी दिइएको समयमा सार्वजनिक बिदा दिइने र उद्योगधन्दाहरू अनिवार्य बन्द गर्ने चलन छ। सडकमा सार्वजनिक यातायातका सीमित साधन मात्र गुड्छन्। यस्तो सूचना सन् २०१५ र २०१६ मा दुईपटक जारी गरिएको थियो।

बेइजिङमा प्रदूषणको अर्को मुख्य कारक तत्त्व सवारीसाधन हो। सवारीसाधनले मात्र ३० प्रतिशतसम्म वायु प्रदूषण गराएको बेइजिङ वातावरण संरक्षण ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अधिक प्रदूषण भएको बेला जोर र बिजोर नम्बर प्रणालीबाट मात्र सडकमा कार गुडाउने अनुमति दिइन्छ। सामान्य समयमा पनि पालोअनुसार हप्ताको एक दिन निजी कार कुदाउन पाइन्न। बेइजिङमा मात्र लगभग ६० लाख कारहरु रहेका छन्। प्रदूषण कम गर्ने उद्देश्यले बेइजिङमा गुड्ने सार्वजनिक बसहरुलाई डिजेलबाट बिद्युतीयमा रुपान्तरण गरिएको छ। अहिले अधिकांश बसहरु यात ट्रली छन् या ब्याट्रीबाट चल्छन्।

त्यसो त चीनले प्रदूषण हटाउन सन् २००७ देखि नै बेइजिङबाट ठूला उद्योगधन्दाहरूलाई नजिकैको प्रान्त हपेईमा सार्न थालेको थियो। सन् २०१७ मा मात्र बेइजिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने ५ सय उद्योगधन्दा बन्द गरेको थियो भने २ हजार ५ सय ६० वटा उद्योगलाई स्तरोन्नति गरी प्रदूषण नियन्त्रण गरेको थियो। यसबीचमा बेइजिङले सात सय काउन्टीमा ‘कोइलाको सट्टामा सफा उर्जा’ प्रयोगमा ल्याएको छ। सन् २०१७ को अगष्टदेखि बेइजिङ वातावरण कानुन प्रवर्द्धन बोर्डले ‘हटस्पट ग्रिड’ लागू गरेर स्पष्ट कानुन कार्यान्वयन गर्न थालेको हो। हटस्पट ग्रिड भनेको प्राविधिक माध्यमले बेइजिङमा रहेको उच्च प्रदूषण क्षेत्रलाई धेरै भागमा विभाजन गर्दै ती क्षेत्रलाई वास्तविक समयमा कार्वन उत्सर्जनको मापन गर्दछ। अनि प्रहरी टोली खटाएर अवैध कार्यलाई नियन्त्रण गर्दछ।

बेइजिङमा निजी कारलाई सीमित बनाउने कदम, सफा उर्जाका सवारी चलाउने, चिनियाँ नयाँ वर्षमा पटका नपड्काउने आदि कार्यमा नागरिकले सरकारलाई व्यापक समर्थन र सहयोग गरेका छन्। चार वर्ष अगाडिसम्म चिनियाँ नयाँ वर्षमा रातभर पटका पड्काइन्थ्यो। फलतः भोलिपल्ट दिनभर बेइजिङ अँध्यारो हुन्थ्यो। सन् २०१७ देखि बेइजिङको पाँचौँ चक्रपथभित्र पटका पड्काउन प्रतिबन्ध लगाइयो। यो नियन्त्रणले पनि वायु प्रदूषण हुनबाट धेरै हदसम्म जोगाएको छ। पाँचौँ चक्रपथ बाहिर पनि पटका पड्काउने कार्यलाई सीमित बनाइएको छ।

यही जनवरी ४ तारिख सोमबार बेइजिङ पर्यावरण ब्युरोले पत्रकार सम्मेलनको आयोजना गरेर बेइजिङ वायुको पछिल्लो अवस्थाको जानकारी गराएको छ। सो पत्रकार सम्मेलनमा जनाइएअनुसार बेइजिङ शहरको हावामा पिएम २.५ औसत प्रतिवर्ष ३८ माइक्रोग्राम रहेको छ। सन् २०१३ मा वातावरण निगरानी सुरु भएदेखि पिएम २.५ ले सबैभन्दा न्यूनतम अंक सिर्जना गरेको हो। सन् २०२० मा बेइजिङमा कुनै पनि दिन गम्भीर प्रदूषण हुन पाएन। बेइजिङको वायु गुणस्तरले ऐतिहासिक उपलब्धि प्राप्त गर्दै जाडो याममा पनि दैनिक निलो आकाश देखिन थालेको छ।

Beijing BlueSky

आठ वर्षको छोटो प्रयासमै अहिले बेइजिङ सुन्दर र सफा भएको छ। यस्तो उपलब्धि सरकारी कामसँगै हरेक नागरिकको जिम्मेवारपूर्ण कार्यले सफल भएको बेइजिङ नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी दियो। चीनमा सी चिनफिङ सत्तामा आएपछि घोषणा गरिएका दुई शत्रु मध्ये गरिबी निवारण सफल बनिसकेको छ भने प्रदूषण नियन्त्रणले पनि उल्लेख्य प्रगति हासिल गरिसकेको छ।

काठमाडौँको वायु प्रदूषण रोक्नलाई हामीले के गर्‍यौँ? हामीले सहरबाट उद्योगहरुलाई बाहिर सार्‍यौँ? पाटन औद्योगिक क्षेत्र र बालाजु औद्योगिक क्षेत्र सहर बाहिर छन् कि सहरका बीचमा? सफा उर्जाका सवारी साधनलाई प्राथमिकता दियौँ? सडक विभाग, सहरी विकास, काठमाडौँ महानगरपालिका, पूर्वाधारका काम गर्ने ठेकेदार, खानेपानी, विद्युत प्राधिकरण, दूरसंचार प्राधिकरण, ढल निकास कसले कति काम गरेका छन्? सहरबासी नागरिकले वायु प्रदूषण तथा वातावरण स्वच्छ राख्नलाई के कस्तो भूमिका निर्वाह गरेका छन्? काठमाडौँले कहिले सिक्ने बेइजिङबाट?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .