ad ad

अपराध


तिब्बतीलाई नागरिकता दिएको कसुरमा ८ जनाविरुद्ध मुद्दा दर्ता

तिब्बतीलाई नागरिकता दिएको कसुरमा ८ जनाविरुद्ध मुद्दा दर्ता

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २०:५८, काठमाडौँ

तिब्बतीलाई नेपाली नागरिकता दिएको कसुरमा ८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसहित ८ जना विरुद्ध मुद्दा दर्ता गरेको हो। 

बिहीबार अदालतमा दर्ता भएको मुद्दामा ८ जनालाई प्रतिवादी बनाइएको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए। 

उनका अनुसार ललितपुरम इमाडोलका कृष्णबहादुर कटवाल, ललितपुरकै धोबिघाट बस्ने हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी घर भई काठमाडौंका बौद्ध बस्ने विजय लामा, काठमाडौंको बबरमहलका न्युल्केस श्रेष्ठ, कीर्तिपुरका देवराज गौतम, तनहुँको शुक्लागण्डकीका लोब्साङ ठिन्ले, गोरखाको भीमसेन थापा गाउँपालिकाका अन्जनी बयलकोटी र तिब्बती नागरिक निमा ल्हामोविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो।

उनीहरुले आर्थिक लेनदेन गरेर तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाएको खुलेको छ। यसको मुख्य योजनाकार कृष्णबहादुर कटवाल भएको अभियोगमा उल्लेख छ। 

उनले नागरिकता दिलाउन एक जनाबाट ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लिएको खुलेको छ। उनले नै स्थानीय तहबाट लिनु पर्ने सिफारिसदेखि सर्जमिन मुचुल्का, छाप वडाध्यक्षको सही लगायत किर्ते गर्ने, हिरालाल र अन्जनले नक्कली शैक्षिक प्रमाण पत्र बनाउने र २५ सयका दरले दिने गरेको खुलेको छ। 

न्युल्केस श्रेष्ठ १० हजार रुपैयाँका दरले रकम लिएर तिब्बतीको नक्कली बुबा बन्ने गरेको अभियोगमा उल्लेख छ। 

सबै कागजात तयार गरेपछि कृष्णबहादुर कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँको क्यान्टिन सञ्चालक विजय लामालाई १ लाख ५० हजार दिने गरेको खुलेको छ। लामाले प्रतिनागरिक २० हजार रुपैयाँका दरले राखेर बाँकी १ लाख ३० हजार रुपैयाँ नागरिकता फाँटमा कार्यरत नायब सुब्बा देवराज गौतमलाई दिने र गौतमले सबै प्रक्रिया मिलाइदिने गरेको खुलेको छ। 

उनीहरुले लिखितसम्बन्धी कसुरमा र नागरिकता सम्बन्धी कसुरमा कारबाही गर्न माग गरिएको छ। लिखित सम्बन्धी कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। मतियारको हकमा यसको आधा सजाय हुने व्यवस्था छ। 

विदेशीलाई नागरिकता दिने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ। यस्तै पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .