ad ad

कारोबार


पर्यटनमन्त्री नहुँदा बोर्ड र प्राधिकरणमा अन्योल, बजेट ल्याउन नसक्दा नयाँ कार्यक्रम अघि बढेन

पर्यटनमन्त्री नहुँदा बोर्ड र प्राधिकरणमा अन्योल, बजेट ल्याउन नसक्दा नयाँ कार्यक्रम अघि बढेन

वसन्त अर्याल
भदौ ६, २०७८ आइतबार १४:१७, काठमाडौँ

नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डले चालू आर्थिक वर्षको बजेट ल्याउनसकेका छैनन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नहुँदा प्राधिकरण र बोर्डले बजेट ल्याउन नसकेका हुन्। 

चालू आर्थिक वर्षको एक महिना सकिसक्दा पनि प्राधिकरण र बोर्डको बजेट कहिले आउने भन्ने निश्चित छैन। प्राधिकरण र बोर्डले नयाँ बजेटको मस्यौदा तयार पारे पनि मन्त्री नहुँदा बजेट सार्वजनिक गर्न सकेका छैनन्।

बोर्ड र प्राधिकरण सिधै मन्त्रालय मातहत नभए पनि ‘लाइम मिनिस्ट्री’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो। 

पर्यटन बोर्डको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ भने प्राधिकरणको बोर्ड अध्यक्ष उड्डयनमन्त्री रहने व्यवस्था छ। 

बोर्ड र प्राधिकरणले बजेट सार्वजनिक गर्न नसक्दा नयाँ कार्यक्रम लागू गर्नसकेको छैन। बजेट सार्वजनिक गर्न ढिला हुँदा छुट्याइएको बजेट खर्च गर्न समेत समस्या हुने ती निकायका अधिकारीको भनाइ छ। 

नागरिक उड्डयन प्राधिकरणलका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नयाँ मन्त्री नियुक्त नहुँदा सम्म बजेट आउने सम्भावना कम रहेको बताए। 

‘बजेट मस्यौदा तयार रहेको छ। बजेट पास प्राधिकरण बोर्ड बैठकले मात्रै गर्न सक्छ’, क्षेत्रीले भने, ‘बोर्डको अध्यक्ष उड्डयन मन्त्री रहने व्यवस्था छ। नयाँ मन्त्री नआउँदासम्म बजेट पास हुने सम्भावना कम छ।’

हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवासँग छ। प्रधानमन्त्री देउवाले चाहेमा बोर्ड बैठक राखी प्राधिकरणको बजेट पास गराउन सक्छन्। 

‘प्रधानमन्त्रीसँगै उड्डयन मन्त्रालयको जिम्मेवारी रहेको छ। उहाँले समय मिलाउनु भए बोर्ड बैठक बसी बजेट पास गराउन सकिन्छ’, क्षेत्रीले भने, ‘उहाँको समय मिलाउन गाह्रो छ। छिट्टै नयाँ मन्त्री नियुक्त हुनुहोला। त्यसपछि बजेट पास हुन्छ।’

प्राधिकरणले बजेट पास नहुँदा पेश्की खर्चको रुपमा बजेट निकासा गरी कार्यालय सञ्चालन गरिरहेको छ। उपमहानिर्देशक क्षेत्रीले अहिले कर्मचारीलाई तलब खुवाउनेबाहेक खर्च गर्न नसकिएको बताए। 

‘अहिले पेश्की खर्चको कार्यालय सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो महिनाभर पनि बजेट पास गर्न सकिएन भने प्राधिकरणलाई ठूलो समस्या देखिनसक्छ।’

नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्ष ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो। चालू आर्थिक वर्षमा पनि कोभिडको कारण आम्दानी प्रभावित भएकाले गत वर्षकै हाराहारीको बजेट आउने प्राधिकरणले जनाएको छ। 

आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्ब ९६ करोडको बजेट ल्याएको छ। कोभिडको कारण प्राधिकरणको बजेट रहेको थियो।

कोभिडको कारण अतिप्रभावित क्षेत्र पर्यटन व्यवसाय रहेको छ। पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनको लक्षित गर्दै बजेट ल्याउने गरेको छ। सरकारले चालू आर्थिक वर्षमा आन्तरिक पर्यटन चलायमान बनाउन कर्मचारीलाई भत्तासहित विदा दिने कार्यक्रम छ। 

बोर्डले नेपाल सरकारका कार्यक्रमलाई सहयोग पुग्ने गरी बजेट तथा कार्यक्रम ल्याउने गरेको छ। 

‘पर्यटन बोर्डले सबैसँग सुझाव संकलन गरी बजेटको मस्यौदा तयार पारेको छ’, बोर्डका निर्देशक मनि लामिछानेले भने, ‘मन्त्रालयको सुझावपछि बजेट पास हुन्छ।’

बोर्डको अध्यक्षमा पर्यटन मन्त्रालयको सचिव रहने व्यवस्था छ। बोर्डले मन्त्री नभए पनि बजेट पास गर्न सक्छ तर नयाँ मन्त्रीको योजना तथा सुझाव समेट्नको लागि बजेट पास गरेको छैन।

‘मन्त्री नभएकै कारणले बजेट रोकिएको त नभनौँ। तर मन्त्रीको नयाँ मन्त्रीको सुझावअनुसार बजेट आए कार्यान्वयन गर्न सहज हुन्छ’, निर्देशक लामिछानेले भने, ‘अहिले पेश्की बजेट खर्चमार्फत कार्यालयका नियमित काम गरिरहेका छौँ।’

पर्यटन बोर्डको बजेट १ अर्बको हाराहारीको हुने अनुमान छ। गत वर्ष कोभिड महामारीको कारण ८० करोड ७१ हजार रुपैयाँको मात्रै बजेट प्रस्तुत भएको थियो। त्यसअघि आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६५ करोड, आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ६३ करोडको बजेट ल्याएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .