नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको विषय पुनः बल्झिएको छ।
भवानी राणाको कार्यकाल सकिनै लाग्दा शेखर गोल्छालाई स्वतः अध्यक्ष बन्न नदिने मनसायका साथ चण्डीराज ढकालले तत्कालीन समयमा विधान संशोधनको मस्यौदा नै तयार गरेका थिए।
पूर्वअध्यक्ष समेत रहेका ढकाल विशिष्ट सदस्य समेत थिए। त्यतिबेला उनले उठाएको उक्त योजना सफल हुनसकेको थिएन।
अहिले शेखर गोल्छा महासंघको अध्यक्ष छन्। पुनः अहिले चण्डीराज ढकालले उठाएको विषयकै वरिपरि रहेर महासंघको विधान संशोधनको विषयबारे छलफल भएको हो।
विधान संशोधनको लागि पूर्वअध्यक्ष कुशकुमार जोशी संयोगक र सहसंयोजक पशुपति मुरारका रहने गरी पूर्वअध्यक्षहरुको एक समिति बनेको थियो।
त्यो समितिले अहिले संशोधनको मस्यौदा तयार गरिरहेको छ।
समितिका सहसंयोजक पशुपति मुरारकाले नेपालखबरसँग भने, ‘हामीलाई महासंघको विधान संशोधनको मस्यौदा बनाउने जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरिएको छ। अब संशोधनको प्रक्रिया अघि बढ्ने हो।’
उनका अनुसार अहिले संशोधनका विषयवस्तुबारे छलफलमात्रै भइरहेको छ। मस्यौदाअनुसार वा आवश्यक कुरा हेरफेर गरेर पनि विधान संशोधन हुनसक्ने उनले बताए।
महासंघको विधान संशोधन समितिले तयार गरेको मस्यौदाले अहिले महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थालाई हटाएको छ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि एक कार्यकाल स्वतः अध्यक्ष हुन पाउने वर्तमान व्यवस्था छ।
यो व्यवस्थाअनुसार भवानी राणा र शेखर गोल्छा अध्यक्ष भइसकेका छन्। भवानी राणा अध्यक्ष हुनुअघि पशुपति मुरारका अध्यक्ष थिए। उनैको पालामा विधान संशोधन गरी यो व्यवस्था ल्याइएको थियो।
मुरारका अध्यक्ष हुँदा संशोधन भएको विषयलाई अहिले पुरानै अवस्थामा फर्काउने गरी विधान संशोधनको मस्यौदा तयार भएको र सोहीअनुसार महासंघमा छलफल समेत चलिरहेको छ।
मस्यौदाअनुसार अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था राखिएको छ।
विधान संशोधन समितिले तयार पारेको मस्यौदालाई अहिले पूर्वअध्यक्षहरु सबैलाई वितरण गरिएको छ। त्यसपछि कार्यसमिति हुँदै सदस्यहरु सबैलाई वितरण हुनेछ।
विधान संशोधन मस्यौदामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई हटाउनेसहित कार्यसमितिको कार्यकाल समेत १ वर्ष घटाउने विषय पनि उठान भएको छ।
हाल तीन वर्ष कार्यकाल रहेकोमा अब २ वर्ष कायम हुनुपर्ने विषय मस्यौदामा उल्लेख छ।
महासंघ पूर्ण रुपमा उद्योगी व्यवसायीको छाता संस्था रहेको र नेतृत्वमा आउँदा महासंघमा धेरै समय खर्चिन समस्या भइरहेको आवाज सुनुवाइ गर्दै यो विषय संशोधन गर्नुपर्ने कुरा मस्यौदामा राखिएको संशोधन समितिको भनाइ छ।
एक समिति सदस्यले भने, ‘उद्योगी व्यवसायी भएपछि आफ्नो व्यवसायलाई धेरै समय दिनुपर्छ। महासंघमा आउँदा व्यवसायमा केही हानि गर्छ। त्यसकारण २ वर्ष राख्नुपर्ने धेरै समयदेखि माग रहेको थियो। त्यसलाई अहिले बहसमा राखिएको हो।’
करिब डेढ वर्षअघि मात्रै पूर्वअध्यक्ष ढकालले संशोधनको प्रस्ताव राख्दा सबैजसो पूर्वअध्यक्षहरुले तत्कालै संशोधनको आवश्यकता नरहेको बताएका थिए। त्यसमा धेरै सदस्यहरुले समेत असहमति राखेका थिए।
केही पूर्वअध्यक्षको असहमति कायमै
यो पटकको संशोधन मस्यौदा छलफलमा पनि केही पूर्वअध्यक्षहरुले असहमति प्रकट गरिसकेका छन्।
केही दिनअघि विधान मस्यौदाको विषयमा छलफल गर्न सबै पूर्वअध्यक्षहरुलाई बोलाइएको थियो। सुकेधारास्थित टोयोटा गाडीको कर्पोरेट अफिसमा राखिएको छलफलमा भवानी राणालगायतका केही सदस्य उपस्थित नै भएनन्।
एक पूर्वअध्यक्षले भने, ‘भवानी राणाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँदा अहिले महासंघलाई के असर गरिरहेको छ? त्यो असर पुष्टि हुन सक्नुपर्छ।’
विधानजस्तो विषय संशोधन गर्न आवश्यक छैन भन्दै पूर्वअध्यक्षलाई बोलाइएको बैठकमा भवानी राणा उपस्थित नभएको उनले बताए।
त्यसो त महासंघको विधान संशोधनमा अहिलेका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले पनि विरोध गरिरहेका छन्।
श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिले अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वा नगर्ने भन्ने विषय उठाउनु उचित छैन। यसमा अहिले संशोधनको आवश्यकता नै छैन। विधान संशोधन गर्ने विषयको औचित्य पुष्टि हुन सक्नुपर्छ।’
यो व्यवस्था ल्याइएको धेरै भएको छैन। व्यवसायीका आआफ्नै स्वार्थको कारण बेला–बेला संशोधनको मुद्दा उठ्ने गरेको छ।
त्यसको मार महासंघको पदाधिकारीहरुलाई हुने श्रेष्ठको तर्क छ।
उनले भने, ‘एक योजना बनाएर महासंघ अघि बढिरहेको हुन्छ। बीचमा विधान संशोधन हुँदा त्यसले प्रत्यक्ष असर गर्छ।’
उनले अहिलेको विधानलाई संघीयता मोडेलमा जाने गरी संशोधन गर्न आवश्यक रहेको बताए।
‘देश संघीयतामा गएको छ। यसअनुसार प्रदेश, स्थानीय तहहरु समावेश छन्’, उनले भने, ‘त्यही भएर उद्योग वाणिज्य संघहरु बनाउने कुरालाई अब विधानमा राख्नुपर्ने हुन्छ।’
यी विषय छोडेर अध्यक्ष र उसको कार्यकालबारे संशोधन गर्न नहुने उनको भनाइ छ।
यता विधान समितिका एक सदस्यका अनुसार अहिले प्रत्यक्ष निर्वाचित अध्यक्ष राख्ने व्यवस्था र चण्डीराज ढकाललले तयार गरेको मस्यौदा फरक छ।
चण्डीराज ढकालले त्यस समयमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई नै स्वतः अध्यक्षमा जाने गरी संशोधनको मस्यौदा तयार गरेका थिए।
तर अहिले भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वतः अध्यक्ष पाउने र त्यसपछिको कार्यकालमा मात्रै यो व्यवस्था लागू गराउने गरी मस्यौदा तयार भएको छ।
विधान संशोधन कसरी हुन्छ?
महासंघको विधान संशोधनको मस्यौदा निर्माण हुँदैमा सोहीअनुसार संशोधन गर्न भने सहज छैन।
विधान संशोधनको लागि विशेष साधारणसभा गर्नुपर्छ। त्यसका लागि कार्यकारिणी सदस्यहरुको बैठकले विधान संशोधनको लागि आवश्यकता ठहर गरी विशेष साधारणसभा बोलाउने निर्णय गर्नुपर्छ।
साधारणसभामा पनि जिल्ला नगरतर्फका सदस्यको ५० प्रतिशतको भूमिका रहन्छ। ३० प्रतिशत एसोसिएट सदस्यको भूमिका र वस्तुगत सदस्यहरुको भूमिका २० प्रतिशत रहन्छ।
विधान संशोधनको विषयमा मतभेद भयो भने उनीहरुले आफ्नो भूमिका निर्वाह गर्ने अधिकार पाउँछन्।
Shares
प्रतिक्रिया