ad ad

कारोबार


७० यात्रु लिएर नेपाल फर्किँदै हिमालय एयरलाइन्स, बेइजिङमा भव्य स्वागत

७० यात्रु लिएर नेपाल फर्किँदै हिमालय एयरलाइन्स, बेइजिङमा भव्य स्वागत

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १३:१९,

चीनको राजधानी सहर बेइजिङ र नेपालको राजधानी सहर काठमाडौं हवाइ सञ्जालमा जोडिएका छन्। निजी क्षेत्रको हिमालय एयरलाइन्सको जहाजले आजदेखि काठमाडौं–बेइजिङ उडान थालेसँगै दुई सहर हवाइ सञ्जालमा जोडिएका हुन्।

हिमालयको उडान नं. एच९ ६६५ को जहाज बेइजिङमा आइतबार साँझ ५ः१० बजे अवतरण गरेको हो। दुई देशको राजधानीबीच सिधा हवाइ उडान भएको यो नै पहिलोपटक हो।

बेइजिङमा हिमालयको जहाज अवतरण गरेलगत्तै चीनको स्वशासित क्षेत्र तिब्बतका उपप्रमुख लुओ मेई र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले डाक्सिन विमानस्थलमा स्वागत गरेका थिए। स्वागत समारोहमा राजदूत पौडेलले दुई सहरबीचको सिधा उडानले दुई देशबीच हवाइ सहकार्यलाई मजबुत बनाउने बताए। उनले व्यापार, लगानी र जनसम्पर्कलाई समेत सिधा उडानले प्रवद्र्धन गर्ने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

himalay plane in beijing 2

हिमालय एयरलाइन्सले आफ्नो ए३२० जहाजमार्फत आज उद्घाटन उडान गरेको हो। उक्त जहाज काठमाडौंबाट नेपाली समयअनुसार बिहान ९ बजे चीन गएको थियो। चीन उडानमा ६० जना यात्रु रहेका थिए भने नेपाल फर्किँदा ७० जना हुने दूतावासले जनाएको छ।

हिमालय एयरलाइन्सले दुई सहरबीचको सिधा उडान हप्तामा आइतबार, मंगलबार र शुक्रबार गरी तीन दिन गर्नेछ। कम्पनीले नेपाली र चिनियाँ राजधानीबीचको सिधा उडानले आगामी वर्ष सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षमा उल्लेखनीय सहयोग मिल्ने आशा गरेको छ।

सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल अबुधाबी, दमाम, दोहा, ढाका, दुबई र क्वालालम्पुरमा उडान भर्दै आएको छ ।

केही समय अगाडि हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ। ४९ प्रतिशत सेयर भएको तिब्बत एयरलाइन्स बाहिरिएर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो। कम्पनीको ५१ प्रतिशत सेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .