ad ad

कारोबार


होटल क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्यो

होटल क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्यो

सिबी अधिकारी
कात्तिक २१, २०७६ बिहिबार ९:५९,

नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग ९होटल तथा रेष्टुराँ० मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत लगानी वृद्धि भएको छ। विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन्। सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग छन्।

ती परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ। यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ। गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानीको प्रतिबद्धता आएको थियो।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धकरुपमा विदेशी लगानीको प्रतिबद्धता आएको बताए। तथ्याङ्क केलाउँदा अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शतप्रतिशत लगानी बढेको उनले उल्लेख गरे।

निर्देशक खड्काका अनुसार चालू आवको तीन महिना (साउन १ देखि असोज मसान्तसम्म) विभागमा मा ८२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी ३० वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) छन्। उत्पादनतर्फ २०, ऊर्जाका १५, सेवामूलक १२ र कृषि, वन पैदावारमा आधारित जम्मा तीन उद्योग दर्ता भएका छन्।

यी उद्योगबाट आर्थिक प्रतिबद्धताअनुरुप रु ४८ अर्ब ९१ करोड ३६ लाख लगानी हुन आउँछ। यसबाट पाँच हजार ६१ रोजगारी सिर्जना गर्ने लक्ष्य छ। विभागको आँकडाअनुसार अघिल्लो आव ०७५÷७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो।

चिनियाँ लगानीको आकर्षण

उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेस्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानीको प्रतिबद्धता आएको छ।

आर्थिकरुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन्। यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुराँमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन्। भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ।

समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको विभागका निर्देशक खड्काले बताए। उनले मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख गरे।

होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे। पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहे पनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो उनले औँल्याए।

हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन्। हानका १५ क्षेत्रीय च्याप्टर छन्। ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ। अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन्। सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .