ad ad

कारोबार


होटल सोल्टीबाट बाहिरिँदै हङकङकाे कम्पनी, साढे ७२ करोड लगानी फिर्ता हुने

होटल सोल्टीबाट बाहिरिँदै हङकङकाे कम्पनी, साढे ७२ करोड लगानी फिर्ता हुने

दीपक भट्ट
कात्तिक २९, २०७६ शुक्रबार ११:५१,

उपत्यकामा रहेको पाँचतारे होटल सोल्टीमा १० प्रतिशत लगानी रहेको हङकङको कम्पनी बाहिरिने भएको छ। हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ले सोल्टीमा गरेको लगानी फिर्ता लैजाने निर्णय गरेको हो।

यससम्बन्धी आवश्यक प्रक्रिया समेत होलिडेले सुरु गरिसकेको छ। सोहीअनुसार कम्पनीले लगानी फिर्ताको निर्णय सञ्चालक समितिबाट अनुमोदन गराइसकेको छ। हङकङको कम्पनीले यसको अनुमति माग्दै कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागमा समेत निवेदन दिएको छ। सोल्टी होटलमा हाल विभिन्न कम्पनीले तीन अर्ब लगानी गरेका छन्।

त्यसमा ७२ लाख ५० हजार अमेरिकी डलरको ७३ लाख २६ हजार कित्ता सेयर होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको रहेको छ। उक्त सेयर संस्थागत, साधारण र बोनस सेयरबापतको हो। प्रतिकित्ता १० रुपैयाँको दरले उक्त सेयर बिक्री प्रक्रियामा रहेको छ। उक्त कम्पनी बाहिरिने भएपछि नेपालबाट करिब साढे ७२ करोड रुपैयाँ लगानी फिर्ता हुनेछ।

सोल्टीकै लगानीकर्ताले किन्ने
हङकङको उक्त कम्पनीले बिक्री गर्ने सेयर पनि होटल सोल्टीकै अर्को लगानीकर्ता कम्पनीले खरिद गर्ने भएको छ। सोल्टी इन्टरप्राइजेज कम्पनीले सबै सेयर किन्न लगेको हो।

२०६३ सालसम्म एक अर्ब २६ करोड ७० लाख दुई हजार एक सय ५५ रुपैयाँ मात्रै लगानी रहेको उक्त कम्पनीले पुँजी वृद्धि गर्दै आफ्नै लगानीकर्ताबाट एक अर्ब ६३ करोड ८६ लाख ५ हजार ५ सय ४३ रुपैयाँ लगानी थप गरी २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ पुर्याएको थियो।

तीनवटा कम्पनीकाे लगानी

सोल्टीमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ।

नेपालको सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा चिनिने होटल सोल्टी होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ। होटलले दुई वर्षअघि नै ५०औं वार्षिकोत्सव मनाएको थियो। २०२२ मंसिर १० गते सयवटा कोठाबाट सेवा सुरु गरेको उक्त होटलको तत्कालीन समयमा राजा महेन्द्र शाहले उद्घाटन गरेका थिए।

यो होटलमा ५ वटा इनसाइट रेष्टुरेन्ट रहेका छन्। होटल परिसरमा क्यासिनो समेत सञ्चालनमा छ।

उक्त होटलले नेपालगञ्जमा आफ्नो भगिनी होटल समेत सञ्चालनमा ल्याइसकेको छ। ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ नामको उक्त होटल पनि पाँचतारे नै रहेको छ। उक्त होटलमा समेत साढे १ अर्ब रुपैयाँ लगानी गरिएको छ।

८१ वटा कोठा, बार, ब्यान्क्वेट, स्पा, जिम, स्टिम बाथ र स्विमिङ पुलको समेत सुविधा रहेको उक्त होटल पश्चिम नेपालको उत्कृष्ट होटलका रुपमा परिचित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .