२०७२ वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गयो। हजारौँ घर ध्वस्त भए। ९ हजार बढीले ज्यान गुमाउँदा २२ हजार बढी घाइते भए। धेरै घरपरिवारको बिचल्ली भयो।
धेरै व्यक्ति–संघ/संस्था उद्धारमा जुटे। त्यसमध्ये एक थिए वत्सल राजभण्डारी। राहत बाँड्ने मेसोमा डिकेश प्रजापतीसँग उनको भेट भयो।
भूकम्पले धेरै कलात्मक मन्दिरहरु भत्किएका थिए। यो देख्दा उनीहरुलाई अब नेपालको संस्कृति र कला क्षेत्र कसरी उठ्ला भन्ने लाग्यो।
कला र संस्कृतिको धनी नेपालमा कलाकर्मीको कमी थिएन। उनीहरुलाई प्रतिनिधित्व गराएर केही गर्नुपर्छ भन्ने महशुस भयो। दुवै जनाले व्यावसायिक रुपमा अघि बढ्ने गरी छलफल गरे।
त्यही छलफलको परिणाम थियो– डोचा।
डोचा फरक अवधारणाका साथ आएको जुत्ता कम्पनी हो।
यसले विविध समुदायको पहिरनमा प्रयोग हुने फेब्रिकको प्रयोग गरी जुत्ता बनाउँछ। विविध नेपाली संस्कृतिलाई आधुनिक डिजाइनसँग सम्मिश्रण गरेर बजारमा उत्पादन पठाउँछ।
हुन त बजारमा धेरै जुत्ता ब्रान्ड छन्। लेदर, फेब्रिकदेखि नाइलनसम्म प्रयोग गरी जुत्ता बनिरहेकै छन्। डोचाले भने फेब्रिकबाट मात्रै उत्पादन गर्छ।
दुई युवाले हाँकेको कम्पनी
डोचा सुरु गर्दा ३ जना थिए। बीचमा एक जनाले छोडेपछि अहिले वत्सल र डिकेशको पूर्ण स्वामित्वमा छ।
यसका काठमाडौं उपत्यकामा दुई उद्योग छन्। कम्पनीले महाराजगन्जको उद्योगबाट जुत्ता मात्रै उत्पादन गर्छ भने ठिमीको उद्योगबाट ब्याग, पर्स, मास्क लगायतका उत्पादन पनि गरिरहेको छ।
कम्पनी अब ठिमीबाटै नयाँ डिजाइनका जुत्ता उत्पादन गर्ने तयारीमा छ।
‘हामी बजारमा भएका जुत्ताभन्दा डिजाइनमा अलि फरक छौँ। त्योभन्दा पनि हाम्रो प्यासन धेरै फरक छ’, डोचाका संस्थापक डिकेश भन्छन्, ‘नेपाली संस्कृतिलाई जुत्तामार्फत रिभाइभ गर्न (ब्युँताउन) खोजिरहेका छौँ।’
खासमा उनीहरु केही नयाँ प्रयोग गर्न चाहन्थे। जिज्ञासा थियो– नेपाली युवाले आफ्नै विविध संस्कृतिप्रति रुचि राख्छन् कि राख्दैनन्?
तर जब बजारमा जुत्ता सार्वजनिक भयो, युवाहरुले बढी नै रुचि देखाए। जिज्ञासा मेटियो।
भूकम्पकै वर्ष उनीहरुमा यो फरक सोच जागृत भएको थियो। त्यसपछि करिब २ वर्ष त यसको रिसर्चमै बिताए।
जुत्ता उद्योग खोल्न तयार भए पनि तीनै जना अनुभवी नहुँदा समय लागेको बताउँछन् वत्सल।
‘२०१७ देखि औपचारिक रुपमा सुरु गर्दा सय जोडी जुत्ता उत्पादन गरेका थियौँ’, वत्सलले सम्झिए, ‘उत्पादित ती जुत्ता बिक्री गर्न करिब डेढ महिना लागेको थियो।’
भनेजस्तो कच्चापदार्थ पाउनै मुस्किल
डोचा सुरु हुँदा उनीहरुले ९० प्रतिशत बढी नेपाली कच्चापदार्थ नै प्रयोग गरे। तर नेपालमा सोचेजस्तो सोल पाउन सकेनन्। उत्पादकलाई डोचाको गुणस्तरअनुसार सोल बनाइदिन आग्रह गरे।
सोल उत्पादनको लागि कच्चापदार्थ ल्याइदिँदा पनि नेपाली उद्योगले १० हजार सोल एकै पटक लिनुपर्ने शर्त राख्यो।
‘अहिलेजस्तो भए १० हजार सोल खरिद गर्ने थियौँ’, डिकेश भन्छन्, ‘पछि उत्पादकलाई एप्रोच गरेका हौँ, पर्ता नपर्दा बाहिरबाटै ल्याउन बाध्य छौँ।’
सोल अहिले बाहिरबाटै मगाउने गरेको उनले बताए। जुत्ताको लागि प्रयोग हुने सबै फेब्रिक भने विभिन्न समुदायको पहिचान/पहिरनसँग सम्बन्धित छन्।
उनीहरु अहिले सीमान्तकृत समुदाय र महिलाहरुको समूहले बनाउने समूहबाटै कच्चा पदार्थ खरिद गर्छन्।
जुत्तामार्फत झल्काउँछन् नेपाली पहिरन
डोचाका जुत्तामा नेवार समुदायको हाकुपाटासी, तामाङको स्यामा, शेर्पाको पांग्देन, मुस्ताङबाट थकाली समुदायको फेब्रिक खरिद गर्ने गरेका छन्।
पूर्वी जिल्ला तेह्रथुमको ढाका र पश्चिमी जिल्ला पाल्पाको ढाकाको कपडा समेत डोचामा प्रयोग हुने उनले बताए।
सकेसम्म धेरै समुदायको पहिरन प्रतिनिधित्व हुने गरी जुत्ता बनाउने योजना भए पनि जुत्ता रफ प्रयोग हुँदा सबै समुदायको कपडा प्रयोगमा आउन नसक्ने उनीहरु बताउँछन्।
उनीहरुले डोल्पाबाट पनि फेब्रिक ल्याए तर जुत्तामा प्रयोग गर्न उपयुक्त देखेनन्। फेब्रिकको मोटाइले जुत्ताको गुणस्तर निर्धारण गर्ने हुँदा उक्त कुरामा बढी ध्यान दिएको डिकेश सुनाउँछन्।
‘हामीले जुत्ता मात्रै बेचेका छैनौँ। समुदायका कथा पनि सँगै बिक्री गरिरहेका छौँ’, उनी भन्छन्, ‘हामी विविध संस्कृति भएका छौँ। युवालाई फरक समुदायको पहिरनबारे जानकारी हुनुपर्छ।’
समाजमा एउटा समुदायले अर्को समुदायको पहिचानको सम्मान गरोस् भन्ने उद्देश्य राखेको उनीहरुको भनाइ छ।
विदेशमा बढी माग
डोचाका अधिकांश ग्राहक नेपालबाहिर छन्। एनआरएनमार्फत जुत्ता बढी बाहिर जाने गरेको उनीहरु बताउँछन्।
एनआरएन डायस्पोरामा ‘प्याट्रोयटिक फिलिङ’ (देशभक्तिको भाव) आउने हुँदा बढी विदेश निर्यात भइरहेको उनीहरुको अनुभव छ।
‘नेपाली ब्रान्ड रै’छ सपोर्ट गरौँ भनेर लिने धेरै छन्। एकपटक खरिद गरेका अधिकांश ग्राहक फेरि आउने गरेका छन्’, वत्सलले भने।
नेपालबाहिर ६० प्रतिशत निर्यात हुन्छ भने नेपाली बजारमा ४० प्रतिशत जुत्ता खपत हुन्छ।
नेपालमा प्रत्यक्ष रुपमा कम्पनीले नै बिक्री गर्दै आएको छ भने बाहिर विभिन्न माध्यममार्फत बिक्री भइरहेको छ।
‘बाहिर हामीले च्यानल खोजी–खोजी जुत्ता बिक्री गर्नुपरेको छैन’, डिकेशले थपे, ‘डिजाइन राम्रो लागेको भएर बिक्री भयो कि!’
सुरुमा जुत्ता बनाउँदा उनीहरुले साइजको विषय ख्यालै गरेका थिएनन्। त्यसपछि यसबारे सामान्य अध्ययन गरे।
उनीहरुका अनुसार डोचाका ३५ देखि ४५ नम्बर साइजसम्मका जुत्ता छन्। ४२ देखि माथिका साइज अन्तर्राष्ट्रिय बजारमा बढी बिक्री हुन्छ। डोचाको मुख्य लक्ष्य नै बाहिर निर्यात गर्ने हो।
साढे २ लाखबाट ४ करोडको व्यवसायसम्म
डोचाको सुुरुवात साढे २ लाख रुपैयाँ लगानीसँगै भएको थियो। हालसम्म गरेको आम्दानी नै उनीहरुले लगानी गरे, अरुबाट ल्याएनन्।
अहिले त्यही साढे २ लाखलाई डोचाले ४ करोड पुर्याउन सफल भएको छ। समग्र व्यवसायले ४ करोडको कारोबार गर्छ।
सुरुमा जुत्ता बजारमा ल्याउँदा मेन्टरले ‘थ्रि एफ’मा बिक्री गर्न सिकाएका थिए– फ्रेन्ड्स, फेमिली र फुल्स। अहिले उक्त नीति परिवर्तन भएको उनीहरु बताउँछन्।
‘सुरु गर्नुभन्दा अहिले धेरै कुरामा परिवर्तन भएको छ’, वत्सल भन्छन्, ‘प्राविधिक कुरा, कच्चा पदार्थ, कम्फर्ट बढेको छ।’
डिजाइनमा भेरिएसन नबढे पनि ‘कम्फर्ट’ बढेको बताउँछन् उनी।
भन्छन्– ग्राहक रिटेन्सन राम्रो छ। सुरुमा खरिद गर्ने र अहिलेका ग्राहकको एउटै प्रतिक्रिया छ– ‘कम्फर्ट’ बढेको छ।
नेपालमै चाहिँ डोचा अहिले काठमाडौंकेन्द्रित छ। अब पोखरा, धरान, चितवन र बुटवलमा बजार विस्तार गर्ने योजना रहेको वत्सलले बताए। त्यसमा पनि पोखरा र धरानमा बढी चल्ने कम्पनीको आकलन छ।
सहरलक्षित बजार, मूल्य केही महंगो
डोचा शू सहरी क्षेत्रलक्षित जुत्ता हुन्। ग्रामीण क्षेत्रमा डोचाका जुत्ता लैजाने योजना पनि उनीहरुले बनाएका छैनन्।
विस्तारको सोचसँगै उनीहरुले चितवनको बजारमा परीक्षण गर्दा नेपाली जुत्ता यति महंगो भन्ने प्रतिक्रिया आयो।
हुन पनि डोचाको मूल्य २७ सय ५० रुपैयाँ छ। हातैले बनाएका जुत्ता भएकाले पनि केही महंगो रहेको डिकेश बताउँछन्।
डोचाले आफ्नो वेबसाइट, फेसबुक, इन्स्टाबाटै बिक्री गरेको छ। ललितपुरको झम्सिखेलमा आउटलेट्स खोले पनि कम्पनी अरु कमर्सियल प्लाटफर्ममा गएको छैन।
‘बजार अध्ययनको लागि आफ्नो साइट र आउटलेट्स छन्। यसले टार्गेट अडियन्स (लक्षित ग्राहक) थाहा पाउन सजिलो हुन्छ’, वत्सल भन्छन्, ‘अरुका प्लेटफर्ममा राख्दा कस्ता ग्राहक हाम्रा हुन्, कुन ठाउँका हुन् भन्ने थाहा हुँदैन।’
उनीहरुका अनुसार डोचाका जुत्ता १७ वर्षका युवादेखि ५५ वर्षसम्मकालाई बढी लक्षित गरिएको छ।
‘अहिले तत्काल मास प्रोडक्सनमा जाने योजना पनि छैन’, उनले भने, ‘मास प्रोडक्सन गर्न बच्चादेखि बूढासम्मले लगाउने जुत्ता उत्पादन गर्नुपर्छ।’
एकै उमेर, पौरखी सोच
व्यवसाय सुरु गरेसँगै साथी बनेका उनीहरु आधा घण्टाका फरकमा मात्रै जन्मिएका हुन्। अहिले दुवैको उमेर ३० वर्ष पुगेको छ।
बीएससी आईटी गरेका डिकेशले कम्पनीमा क्रिएटिभिटी र डिजाइन हेर्छन्। वत्सलले अपरेसन र बिजनेस डेभलपमेन्टको पाटो हेर्छन्।
उत्साहित हुँदै व्यवसाय सुरु गरेका उनीहरुलाई समयले साथ दिएन। कोभिड महामारी आयो। केही स्टार्टअप यही बेला फस्टाएका थिए।
उनीहरुले ललितपुरमा आउटलेट्स खोलेको १० दिनमै पहिलो लकडाउन भयो। करिब ५–६ महिना लकडाउन हुँदा मानिसहरु घरबाट बाहिर निस्कन पाएनन्, जुत्ताको बिक्री नै भएन।
लकडाउन खुलेपछि पनि कच्चापदार्थ ल्याउन अप्ठ्यारो भयो। सामग्री धेरै महंगो। समस्या सकिएन।
पहिलो लहर सामान्य हुँदै गएपछि व्यवसाय फस्टाउने देखेर भक्तपुरको ठिमीमा दोस्रो उद्योग सञ्चालनमा ल्याए। तर १४ दिनपछि फेरि लकडाउन सुरु भयो।
महामारीले सिकायो
कोरोना संक्रमण फैलिएपछि समस्या भए पनि यसले संकटमा कसरी व्यवसाय बचाउने सिक्न पाएको बताउँछन् उनीहरु।
‘अहिले सबैले आफ्नो गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर त्यसको लागि रातदिन खट्नुपर्छ’, वत्सल भन्छन्।
डोचाका ग्राहकले अहिले नयाँ डिजाइनका जुत्ता बजारमा ल्याउन आग्रह गरिरहेको उनको भनाइ छ।
महामारीको समयमा नयाँ जुत्ताका डिजाइनको विषयमा अध्ययन अनुसन्धान गरेका उनीहरुले मार्चमा नयाँ डिजाइनसहितका जुत्ता बजारमा ल्याउँदै छन्।
‘कोभिडको प्रभाव कम हुँदै गएको छ। स्प्रिङ र समर सिजन आउँदै छ’, डिकेश भन्छन्, ‘नयाँ डिजाइनका जुत्तासँगै बजार रिभाइभ हुनेमा विश्वस्त छौँ।’
Shares
प्रतिक्रिया