सात वर्ष कोरियामा बिताएर घरदेश फर्किएका चिजमान गुरुङलाई यहीँ केही गरौँ गरौँ लागिरहेको थियो। कोरियाली भाषा जानेकाले ट्रेकिङ गाइड बने।
उनी सन् १९९३ मा कोरिया गएर सन् २००० मा नेपाल फर्किएका थिए। कोरिया बसाइमा बाध्यताले सिकेको त्यहाँको संस्कृति र भाषा बल्ल काम लाग्ने भयो। गाइड बने पनि उनको मनमा भने रेस्टुराँ खोलेर ‘कोरियन फ्लेभर’ पस्किने हुटहुटी चलिरहेकै थियो।
दुई वर्ष अल्झिएपछि पोखरामा खोलेको ‘हानकुक साराङ’ रेस्टुराँ त्यही हुटहुटीको परिणाम थियो। ‘हानकुक साराङ’ कोरियन उच्चारण भए पनि नेपालमा त्यसको अर्थ हुन्छ– ‘कोरियन माया’।
सन् २००२ मा उनले त्यही ‘कोरियन माया’ पस्किए। कोरियनहरु आफ्नो देशलाई ‘हानकुक’ र मायालाई ‘साराङ’ भन्छन्। हो, यहीँबाट उनले बिल्कुलै भिन्न किसिमको रेस्टुराँ खोलेर ग्राहकलाई फरक र मीठो स्वाद पस्किने सपना पूरा गरेका थिए।
२० वर्ष होटल तथा रेस्टुराँ क्षेत्रको व्यवसायमा रमाएका चिजमान अहिले दैनिक लाखौँको आम्दानी गर्ने भएका छन्। यो ठाउँसम्म आउन उनले धेरै ‘पापड पोलेका’ छन्।
पर्यटकीय सहरले परिचित पोखराकै छेउछाउमा जन्मे–हुर्केका हुन् उनी। केही गर्न सक्ने भएपछि परिवारले चिजमानलाई लाहुरे बन्न वा विदेशमा गएर पैसा कमाउन सुझाव र ‘दबाब’ दिन्थे।
‘पढेर केही हुन्छ भन्ने नै त्यो बेला थिएन। घर परिवारको प्राथमिकता नै भारतीय वा बेलायती लाहुरे बन्नुपर्छ भन्ने थियो’, चिजमान सम्झिन्छन्, ‘सबैले जसरी पनि विदेशमा गएर पैसा कमाउनुपर्छ भन्थे।’
पैसा कमाउन हङकङदेखि कोरियासम्म
पोखरातिरका धेरै हङकङतिरै थिए। साथीभाइको लहलहैमा लागेर २० वर्षकै उमेरमा उनी पनि हङकङ हानिए। त्यतिबेला विना पैसामा हङकङले भिसा दिन्थ्यो।
त्यहाँ १ महिना मात्रै काम गर्दा पनि राम्रो कमाइ हुन्थ्यो। तीन महिना थाहै नपाई बित्यो। हङकङको भिसा सकियो। नेपाल फर्किने उनको सोच थिएन, कोरिया गए। अहिलेजस्तो त्यहाँ जान कोरियन भाषा पढेर पास गर्नु पर्दैनथ्यो। कोरिया (दक्षिण कोरिया)ले पनि विना पैसा नेपालीलाई भिसा दिन्थ्यो।
कोरियामा बिताएको सात वर्ष उनलाई हङकङको तीन महिने बसाइजस्तै भयो। कतिखेर बित्यो, बित्यो। त्यसपछि भने उनलाई नेपालमै केही गर्नुपर्छ भन्ने लागेको हो।
लेकसाइडमा कोरियन रेष्टुरेन्ट त खोले तर ग्राहकलाई आफैँले स्वाद चखाउनुपर्यो। सुरु–सुरुमा उनले आफन्त र साथीभाइलाई बोलाएर स्वाद चखाए। हुन पनि कोरियन स्वाद केही फरक हुन्छ।
रेस्टुराँ चलाउन अनेक उपाय लगाए तर एक पटक रेस्टुराँमा खाएका ग्राहक फेरि फर्काउन सकेनन्। अब गर्ने के? उनको मनले हरेस खाएको थिएन।
हन्डरबाट कोरेको सफलता
२००२ मा खोलेको हानकुक साराङले त्यसको २ वर्षपछि मात्रै ग्राहक फर्काउन थाल्यो। योबीचको अवधिमा चिजमानले ट्रेकिङबाट कमाएको पैसाले कर्मचारीको तलब, घर भाडा तिरे। आम्दानी राम्रो भएन।
यसको कारण थियो– पोखरामा रेस्टुराँ खोल्दा उनले विदेशीलाई मात्रै लक्षित गरेका थिए। पोखरामा नेपाली रेष्टुरेन्टमा गएर खाने संस्कृति विकास भइसकेको थिएन। त्यसमा पनि कोरियन परिकार। पर्यटक सिजन ६ महिना मात्रै हुन्थ्यो।
चिनजानेका सबैलाई स्वाद चखाए पनि सोचेअनुसार सफलता पाउन नसकेपछि उनले काठमाडौंमा बढी विदेशी पर्यटक आउने देखे। ठमेलमा साथीहरुसँग मिलेर ‘हानकुक साराङ’ खोले।
कोरियन खाना सिजनअनुसार फरक हुन्छ। नेपालमा संगेसाल पोर्क बेली, भिटामिन सी बढी हुने किम्चीको सुप बढी चल्छ। कोरियनहरु गर्मीको समयमा बढीजसो चिसो खानेकुरा खान्छन्।
स्वादमा च्वाट्ट जिब्रो पड्काउने नेपालीलाई चिल्लो र पिरोविनाको कोरियन परिकारमा रुचि नहुनु स्वाभाविक थियो।
‘नेपालीले बियर पनि तातो खान्छन्। तातो वा मन तातो बढी मन पराउँछन्’, उनको अनुभव छ।
बढी पर्यटक आउने ठाउँ भए पनि पोखरा र काठमाडौंमा उनले सोचेजस्तो व्यवसाय गर्न सकेनन्। त्यसपछि सन् २००७ मा उनी फेरि कोरिया गए।
नेपालमा रेष्टुरेन्ट चलाएको अनुभव छँदै थियो। यही क्षेत्रमा केही गर्ने हुटहुटी मरिसकेको थिएन। कोरियन खानामा चासो बढ्यो। त्यहाँका राम्रा–राम्रा रेस्टुराँ चहारे।
करिब ५ वर्ष यहीसम्बन्धी ‘रिसर्च’सँगै बिताएका उनी सन् २०१२ मा नेपाल फर्किए।
पोखराको होटल बेचेर गए पनि ठमेलको रेस्टुराँ उनका पार्टनरले चलाइरहेकै थिए। फर्किएपछि ठमेलको रेस्टुराँ राम्ररी चलाउने प्रयास गरे।
पार्टनरसँग विभिन्न विषयमा कुरा मिल्नसकेको थिएन। यहीबीचमा युरोप जान ‘ट्राई’ गरे। कोरियामा कमाएको पैसा सकियो। जान सफल भएनन्।
कोरियन अनुभवले जन्मिएको ‘हानकुक साराङ’
ठमेलको रेस्टुराँ चाहेजस्तो बनाउन नसकेपछि बैंकबाट ऋण लिए। त्यसपछि काठमाडौंको टंगालमा खुलेको हो ‘हानकुक साराङ’।
जहाँबाट उनले आज पाएको सफलताको ‘श्रीगणेश’ गरेका थिए। यो त्यही सन् २०१७ को समय थियो।
त्यसपछि भने रेस्टुराँ क्षेत्रमा एकपछि अर्को अप्ठ्यारो खुट्किला चढेका चिजमानलाई पहिलेजस्तो ‘अब्स्ट्याकल’ पार गर्नुपरेन।
कोभिड महामारीकै बीचमा ठमेलको सञ्चयकोष भवनछेउमा अर्को शाखा पनि खोले।
‘रेस्टुराँ सुरु गर्दा साथीलाई कोरियन ‘डिस’ खान सिकाउँथेँ’, उनी भन्छन्, ‘अहिले त ग्राहक नै रेस्टुराँको वेटरभन्दा जानेका आउँछन्।’
सामाजिक सञ्जालले रेस्टुराँ संस्कृति विकासमा ठूलो सहयोग गरेको उनको अनुभव छ।
‘पोखरा लेकसाइडमा २ वर्षसम्म जागिर गरेर धान्नुपरेको थियो। अहिले ठमेलमा खुलेको दिनबाटै राम्रो चल्यो’, चिजमानको भनाइ छ, ‘अहिले कोरियन रेस्टुराँ भए पनि मुख्य टार्गेट नेपाली नै हो।’
कोभिड महामारीको कारण विदेशी पर्यटक नआए पनि नेपालीले नै धानिएको उनले सुनाए। अहिले ईपीएसमा कोरिया गएर फर्किनेहरुले पनि कोरियन रेष्टुरेन्ट चल्न सहयोग गरेको बताउँछन् उनी।
‘अहिले त कोरियन रेस्टुराँमा गएर खाएपछि मात्रै रेष्टुरेन्टमा गएर खाएजस्तो हुन्छ भन्ने धेरै सुन्छु’, उनले हाँस्दै भने।
कोरियाको किम्ची नेपालमै
चिजमानले कोरियामा किम्ची बनाउन सिकेका थिए। किम्ची झण्डै नेपाली गुन्द्रुकजस्तै हुन्छ। नेपालमा सुरु गर्दा यस्तो गन्हाउने कुरा कसले खान्छ भन्ने थियो। अहिले ग्राहक त्यही रुचाउँछन्।
नेपालमा रेस्टुराँँको मेन्यु हेरेपछि मःमः र चाउमिन खानुपर्छ भन्ने अझै छ। कोरियनहरु भने फरक रहेको उनको अनुभव छ।
चिजमान थप्छन्, ‘कोरियन साइड डिसमा प्रोटिनको खाना बढी हुन्छ। साइड डिस बढी खान्छन्।’
उनका अनुसार कोरियनहरु खाना भोक मेटाउनभन्दा औषधिको रुपमा बढी प्रयोग गर्छन्।
‘नेपालमा बिरामी भएपछि औषधि खोज्न जाने चलन बढी छ। कोरियनले आफ्ना बच्चालाई बिरामी नै हुन नदिन खानाको ब्यालेन्स मिलाएका हुन्छन्’, उनले भने।
नेपालमा केही वर्ष अघिसम्म खाना भनेको भोक मेटाउन भन्ने थियो। अहिले विस्तारै घट्दै गएको बताउँछन् उनी।
भन्छन्, ‘खाना केवल भोक मेटाउन मात्रै होइन स्वाद र स्वास्थ्यका लागि हो भन्ने लाग्नथालेको छ।’
टंगालको हानकुक साराङमा नेपाली मात्रै ग्राहक छन्। ठमेलमा ५० प्रतिशत विदेशी ५० प्रतिशत नेपाली हुने गरी रेष्टुरेन्ट खोलेका थिए। तर अहिले नेपालीले नै धानिएको छ।
यद्यपि उनी छिटो पैसा कमाउन भने बाहिर नै ठीक रहेको बताउँछन्।
‘तर दीर्घकालीन हुँदैन। विदेशमा नेपालजस्तो काम गर्न मज्जा लाग्दैन’, उनको अनुभव छ, ‘नेपालमा जस्तो रमाइलो बाहिर हुँदैन। आफ्नो केही गर्न पाउँदा मज्जा लाग्छ।’
हानकुक साराङमा अहिले उनले ६३ जनालाई रोजगारी दिएका छन्।
दैनिक ३ लाखसम्म कारोबार, खुल्दै छन् फ्रेन्चाइज
२००२ मा उनले सुरु गरेको रेस्टुराँ पोखरामा अझै छ। त्यतिबेला उनले आफ्नै चिनजानका दाइहरुलाई बिक्री गरेका थिए। रेस्टुराँ आफुले बेचे पनि ‘द हानकुक साराङ’को नामबाट चलिरहेको उनले बताए।
ठमेलमा उनले पहिले चलाएको रेस्टुराँ ‘केटीएम हानकुक ’ पनि चलिरहेकै छ।
उनका चिनेजानेकाहरुले नै ‘जाउलाखेल हानकुक ’, ‘द हानकुक साराङ’ राखेर काठमाडौंसहित पोखरा, चितवनलगायतका सहरमा होटल चलाइरहेका छन्।
हानकुक साराङको ट्रेडमार्क भने गुरुङकै नाममा दर्ता छ।
छ करोड लगानी
टंगाल र ठमेलमा खोलेको हानकुक साराङका लागि उनले हालसम्म छ करोड लगानी गरिसकेका छन्।
दुवै ठाउँमा ३/३ करोड लगानी भएको उनको भनाइ छ। करिब १ वर्षमा आफ्नो लक्ष्यअनुसार व्यवसाय अघि बढेको बताउँछन् चिजमान।
अब ललितपुर, बानेश्वरमा आफैँ शाखा खोल्ने योजना रहेको उनले सुनाए। यसबाहेक काठमाडौंबाहिर फ्रेन्चाइज दिने तयारी छ।
ठमेलको रेस्टुराँ कोरियन थिममा बनेको छ। जहाँ युवालाई लक्षित गर्दै डिजाइन गरिएको छ।
‘रेस्टुराँ कल्चर’ परिवर्तन भइरहेको अहिलेको समयमा त्यहाँबाट राम्रै प्रतिक्रिया आइरहेको उनको भनाइ छ।
हुन पनि मानिसहरु नाक, कान, आँखा र मुखले रेस्टुराँको अनुभव गर्नथालेका छन्। यसैलाई मनन गरेका उनले ठमेलमा बच्चा खेल्ने ठाउँदेखि प्राइभेसी कोठासम्मको व्यवस्था गरेका छन्।
‘रेष्टुरेन्टको लुक र खानाको परिकार कस्तो देखिन्छ। शान्त वातावरण छ कि छैन। म्युजिक सिस्टम छ वा छैन’, उनी भन्छन्, ‘परिकारको बास्ना र टेस्ट कस्तो छ। ख्याल गर्छन्।’
कोरियन फ्लेभर जोगाउने योजना
कोरियन रेस्टुराँ व्यवसाय सुरु गरेको २० वर्ष भए पनि उनले टंगालको हानकुक साराङलाई आफ्नो सफलताको आधार मानेका छन्।
टंगालबाट फ्रेन्चाइजलाई विस्तारै देशका मुख्य सहरमा विस्तार गर्ने उनको सोच छ। त्यसको लागि टंगालमै सेन्टर किचन सञ्चालनमा ल्याएका छन्। हानकुक साराङको स्वाद बचाइराख्न सेन्टर किचन सञ्चालन गर्दै छन्।
सेन्ट्रल किचनले किम्ची र ससजस्ता सबै कच्चा पदार्थ बनाउँछ। त्यही किचनबाट फ्रेन्चाइजलाई ती स्वाद बाँड्ने उनको योजना छ।
एउटै स्वाद पस्किनका लागि पनि सेन्ट्रल किचन सञ्चालन गर्नलागेको उनले नेपालखबरलाई बताए।
‘कोरियन डिस बनाउन केही सामग्री कोरियाबाटै ल्याउनुपर्छ’, उनी भन्छन्, ‘नेपालमा कोरियन खाना बनाउन विभिन्न सामग्रीको अभाव हुने गरेको छ। सस, खोर्सानी र तिलको तेल कोरिया, थाइल्यान्ड, चीनबाटै आउँछ।’
कोरियन स्वादलाई स्थिरता दिन कोरियन खोर्सानी नै गाउँमा लगाउन प्रोत्साहन गरिरहेको चिजमान बताउँछन्।
नेपाली प्रोडक्टका थप स्टोरी :
Shares
प्रतिक्रिया