नेपाल राष्ट्र बैंकले सकेसम्म आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
सरकार फेरबदलपछि बजेट समेत प्रतिस्थापन गर्ने भएपछि गत वर्ष साउन २५ गते मात्र मौद्रिक नीति सार्वजनिक गरिएको थियो। यो वर्ष भने पहिलो हप्ता नै मौद्रिक नीतिको तयारी गरिएको हो।
चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकीन गर्नेछ।
गत आर्थिक वर्षमा छ प्रतिशतको मूल्यवृद्धि हुने मौद्रिक नीतिले उल्लेख गरेको थियो। यसपटक पनि सोही हाराहारीमा रहेको उल्लेख हुनेछ।
गत वर्षको जेठ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ८ दशमलव ५६ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ४४ प्रतिशत छ।
तर असारमा केही नियन्त्रणमा आएको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकले बाह्य क्षेत्रमा नेपाल झन् झन् दबाबमा रहेको बताएको छ। विशेषगरी वैदेशिक मुद्रा सञ्चितिमा उल्लेख्य गिरावट देखिएकोले नयाँ मौद्रिक नीति बाह्य क्षेत्रको दबाब कम गर्न केन्द्रित भएर आउने स्रोतको भनाइ छ।
वैशाख महिनाको तुलनामा जेठ महिनामा वैदेशिक मुद्रा सञ्चिति ३० अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले नै सार्वजनिक गरेको विवरणले देखाएको छ। तर नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रकम रोकिएकोले सञ्चिति बढेको देखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। साउन र भदौमा सबै पेमेन्ट जानसक्ने भएकोले वैदेशिक मुद्रा सञ्चितिमा ठूलो दबाब देखिने उनको भनाइ छ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।
त्यस्तै नेपालको वस्तु व्यापारघाटा पनि उल्लेख्य देखिएको छ। गत आर्थिक वर्षमा व्यापारघाटा १७ खर्ब पुगेको छ। नेपालको कुल बजेटकै आकारमा नेपालको वैदेशिक व्यापारघाटा समेत देखिएको छ।
गत आर्थिक वर्षमा नेपालमा वस्तु खपत अत्यधिक बढेको देखिन्छ। बैंकको लगानी नै वस्तु आयात गर्नमा भएको देखिएको छ। सरकारले १० वटा वस्तुमा आयात प्रतिबन्ध नै गरेको छ।
शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा छ । चालू खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा छ । असार मसान्तमा यो अवस्था अझ खस्किएकोले बाह्य क्षेत्र दबाबमा रहेको विश्लेषण गरिएको छ।
कस्तो नीति आउँदै छ?
नेपाल राष्ट्र बैंकले वस्तु आयातमा पूर्ण बन्देज त लगाउन पाउँदैन तर वस्तु आयात कर्जा प्रवाह रोक्ने मौद्रिक नीति भने आउनसक्ने संकेत गभर्नर महाप्रसाद अधिकारीले दिएका छन्। मौद्रिक नीति लेखन टिमका एक सदस्य पनि प्राविधिक रुपमा मौद्रिक नीति तयार हुने बताउँछन्।
मागअनुसार वा कसैले चाहेअनुसार नहुने उनको भनाइ छ। उनले नेपालखबरसँग भने, ‘तथ्याङ्कहरु विश्लेषण हुने हो, कुन तथ्याङ्कले कुन क्षेत्रमा ह्रास भइरहेको देखाउँछ, त्यसलाई सुधार गर्ने विषय समावेश हुन्छ।’
राष्ट्र बैंकले अहिलेको महंगी नियन्त्रणको लागि पनि ब्याजदर बढाउनुपर्ने संकेत गरेको छ। कारोना कालमा दिएको सुविधाहरुलाई परिमार्जन भएको कसिलो मौद्रिक नीति तयार भएको हो।
के हो मौद्रिक नीति?
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने वित्तीय नीति नै मौद्रिक नीति हो।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।
चालू आर्थिक वर्षको पाँच दिन बितिसक्दा चालू आर्थिक वर्षको लागि गाइड गर्ने नीति सार्वजनिक हुनसकेको छैन। जसको कारण बैंक तथा वित्तीय कम्पनीहरु आफ्नो योजना बनाउन ढिलाइ भइरहेको बताइरहेका छन्। यता बजेट कार्यान्वयनको मार्गनिर्देशन पाइसकेको संघ÷संस्थाहरु वित्तीय नीति कस्तो आउँछ भन्ने पर्खाइमा छन् ।
Shares
प्रतिक्रिया