ad ad

कारोबार


तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

काठमाडौँको नागार्जुन नगरपालिका–६ का डाँडागाउँवासीले व्यावसायिक रुपमा गरेको सयपत्री फूलखेती । यस वर्ष तिहार पर्व कात्तिकको पहिलो हप्ता भएकाले फूल भने राम्रोसँग फुलिसकेको छैन । तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ९:४८, झापा

फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ। आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे)  सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन्। आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिक रूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताइन्। 

“माग धान्नै गाह्रो भइरहेको छ”, उनले भनिन्, “तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ। तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ।”

तीसवटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको उनको भनाइ थियो।

पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पुर्‍याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाइन्।

“फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन्। थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ”, उनले भनिन्।

उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गरिरहेका छन्। फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका छ।

मेचीनगर–९ मा डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरिरहेका छन्।

कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गरिरहेका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताए। फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनले बताए।

“हामी माला उनेर बेच्न भ्याउँदैनौँ”, उनले भने, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ, तीन सय थुँगाको रु पाँच सय गरेर रकम लिन्छौँ।”

तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गरिरहेका उनले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताए। सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ।

सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यावसायिक रूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाइ छ। उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .