ad ad

कारोबार


नेपाली सेना र काठमाडौं महानगरबीच मिर्गौला रोगीलाई हेमोडाइलासिस सेवा दिने सम्झौता

नेपाली सेना र काठमाडौं महानगरबीच मिर्गौला रोगीलाई हेमोडाइलासिस सेवा दिने सम्झौता

नेपालखबर
पुस २, २०७६ बुधबार ११:३६,

रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य गरेको छ।

सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपत्कालीन स्वास्थ्य सेवा, मिर्गौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवा प्रदान गर्न सम्झौता भएको हो।

बुधबार नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच सम्झौतामा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले हस्ताक्षर गरेको महानगरले जनाएको छ।

त्यस अवसरमा बोल्दै महानगरका प्रमुख शाक्यले सहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि महानगरले अघि बढाएको साझेदारिताअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए। उनले भने, ‘यसअघि हामीले सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सम्झौता गरिसकेका छौं। उनले नेपाली सेनासँग यसअघि वृक्षरोपण गरी हरियाली प्रवर्द्धन गर्नका लागि साझेदारी भइसकेको जानकारी दिए।

नेपाली सेनाले भवन बनाउँदा पहिलो पटक महानगरमा आएर नक्सा स्वीकृति लिएको बताउँदै मेयर शाक्यले सहरी व्यवस्थापनका लागि समेत सेनासँग भएको दक्षता प्रयोग गर्ने गरी काम गरिरहेको बताए। त्यस क्रममा बोल्दै महारथी थापाले जंगी अड्डाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए। उनले भने, ‘हामी स्थानीय सरकारसँग मिलेर जनताका लागि आवश्यक पर्ने अत्यावश्यक सेवा दिन तयार छौं।’

के छ सम्झौतामा ?
सम्झौताबमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका बिरामीहरुलाई वीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ। यसका लागि महानगरले सुरुमा १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ। हेमोडाइलासिसका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ।

यसरी माग गरिएको रकम कार्य प्रगतिका आधारमा थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका स्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

कसरी लिने सेवा ?
महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ।

सम्झौता बमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रमुखले तोकेको कार्यपालिका सदस्यको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन हुनेछ। सम्झौताबमोजिमका काम प्रभावकारी रुपमा गर्न/गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुवै पक्ष समक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने कार्यदललाई कार्य विवरण दिइएको छ ।

यसमा महानगरसँग सम्बद्ध २ जना अधिकारी सदस्य र सेनाका २ जना अधिकारी सदस्य रहनेछन्। कार्यदलसँगै महानगरको सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखा र सेनाको अस्पताल तथा पदाधिकारीहरुबीच छलफल र परामर्श गरेर सेवा विस्तार गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ।

यस सम्झौताको अवधि पाँच वर्ष तोकिएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्तममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित महानगरका र नेपाली सेनाका उच्च अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .