अर्थमन्त्री डा. युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खनन्ले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन् गर्नुपर्ने बताएका छन्।
अर्थसमितिको बिहीबारको बैठकमा अर्थमन्त्री खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेल्वे निर्माणका लागि नदीजन्य निर्माण सामग्रीले नपुग्ने भन्दै वातावरणमा असर नपर्नेगरी ठूला पहाडहरु फोर्नुको विकल्प नरहेको बताएका हुन्।
उनले प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरु उत्खनन् गर्न कठिनाई भएको उल्लेख गर्दै यस्तो अवस्था रहिरहे ठुला परियोजनाहरुको निर्माण कार्य प्रभावित हुने बताए।
अर्थमन्त्री खतिवडाले एउटा सडक निर्माण गर्न सातआठवटा निकायले काम गरिरहेको बताउँदै सबै निकाय सडक निर्माणमा केन्द्रित हुन नहुने बताए। उनले ७ सय ५३ वटै स्थानीय तह, सबै मन्त्रालय तथा निकायहरु कुनै न कुनै रुपमा सडक निर्माणमै केन्द्रित रहेको बताउँदै अहिलेको विकास सडक निर्माणले नै अस्तव्यस्त बनाएको बताए।
अर्थमन्त्री खतिवडाले पछिल्लो समय सार्वजनिक खरिद नियमावलीका कारण पनि विकास निर्माण प्रभावित भएको बताए। त्यस्तै आयोजनाको प्राथमिकता निर्धारण गर्न नसकिएकोले बजेट खर्च कम भएको उल्लेख गर्दै तीन वटै तहका सरकारबीच समन्वयको आवस्यकता औंल्याए। उनले स्थानीय तह र प्रदेश सरकारको बजेट खर्च न्यून भएका कारण पनि विकास खर्च कम देखिएको बताए।
आयातमा आधारित आर्थिक वृद्धि र राजश्व प्रणालीबाट आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि र आन्तरिक निर्माण सामग्री, आन्तरिक सामग्रीमा आधारित विकास र त्यसैमा आधारित राजश्व प्रणालीको विकास सरकारले गरिरहेकाले अव दिगो आर्थिक विकासको अधार तयार हुन लागेको समेत बताए।
प्रतिक्रिया