ad ad

कारोबार


नेपाली धागो अब टर्की होइन, जानेछ बंगलादेश

नेपाली धागो अब टर्की होइन, जानेछ बंगलादेश

नेपालखबर
पुस २४, २०७९ आइतबार २२:२३, काठमाडौँ

कपडाजन्य उत्पादन र निर्यातमा अग्रणी बंगलादेशले नेपालका लागि स्थलमार्ग खुल्ला गरेको छ। 

योसँगै नेपाली धागो स्थलमार्ग हुँदै बंगलादेश निर्यात गर्न सहज हुने भएको हो। 

लामो समयदेखि नेपालले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न पाएको थिएन। तर यो बन्दरगाह नेपाली व्यापारीका लागि खुल्ला भएसँगै अब नेपाली धागो टर्कीको साटो बंगलादेशमै निर्यात हुने भएको हो। 

बंगलादेशले धागो निर्यात गर्न बाटो बन्द गरिदिँदा नेपालले भारत र टर्कीलाई मुख्य निर्यात बजार बनाउँदै आएको थियो। छिटफुट अन्य देशमा समेत निर्यात हुने गरेको छ। गत आर्थिक वर्षमा १२ अर्ब ७४ करोड २८ लाख ५१ हजार रुपैयाँको ४ करोड ७ लाख ९३ हजार किलो धागो निर्यात भएको छ। 

नेपालबाट ठूलो परिमाणमा विद्युत् आयात गर्न चाहिरहेको बंगलादेशसँग नेपालले धागो निर्यात नरोक्न माग गर्दै आएको थियो। कम लागतमै निर्यात गर्न पाउने भएकाले पनि नेपालका लागि यो आवश्यक थियो। सोही माग बंगलादेशले सुनुवाइ गरेको हो।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलाबन्ध सुख्खा बन्दरगाहबाट नेपाली धागो निर्यातको लागि बंगलादेश सरकारले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको छ।

मन्त्रालयका एक अधिकारीले नेपाखबरसँग भने, ‘उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशको भन्सार तथा अन्य शुल्कसम्बन्धी जिम्मेवार सर्वोच्च निकाय राष्ट्रिय राजस्व बोर्डले आफ्नो वैधानिक नियमन अर्डरमा समावेश गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको छ।’ 

उनका अनुसार अब बंगलाबन्ध सुख्खा बन्दरगाह नाकाबाट नेपाली धागो निर्यात गर्न सकिनेछ। सो अनुसार वाणिज्य मन्त्रालयले नेपाली धागो उद्योगहरुलाई पत्राचार समेत गरिसकेको छ। 

सन् २००३ पछि धागो निर्यात स्थलमार्गबाट
सन् २००३ सम्म नेपालले बंगलाबन्ध बन्दरगाहबाट नै निर्यात गथ्र्यो। २५ वर्षअघि काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँंग औपचारिक व्यापार सुरु गरिएको थियो। 

त्यस समयमा बंगलादेशमा थोरै मात्र टेक्सटाइलको काम हुन्थ्यो। बंगलादेशले आफ्नो धागो बजारका लागि नेपालबाट निर्यात रोके पनि अहिले खुल्ला गरिदिएको हो। बंगलादेशसँंगको व्यापारका लागि काँकडभिट्टादेखि बागडोग्रा–घोषपोखर–फूलबारीसम्मको करिब ५४ किलोमिटरको दूरी पार गरेर बंगलाबन्ध पुग्न सकिन्छ। 

धागो उद्यमी तथा त्रिवेणी स्पिनिङ मिल्सका सञ्चालक रामचन्द्र संघाई बंगलादेश नयाँ बजारको रुपमा आएको बताउँछन्। 

उनले भने, ‘बंगलादेश टेक्सटाइलमा निर्यातमा विश्वमा १ नम्बरमा आएको छ। उक्त देशमा धागो बेच्नु र नेपालले बजार पाउनु खुसीको कुरा हो। हामी टर्की र भारतमा बढी निर्यात गर्दथ्यौँ। अब बंगलादेश नयाँ बजारको रुपमा देखिएको छ।’

उनले भनेजस्तै बंगलादेश टेक्सटाइल क्षेत्रमा निकै अगाडि पुगिसकेको छ। उसले २०२२ को तीन महिनामा मात्रै १० अर्ब २७ करोड अमेरिकी डलरको कपडाजन्य निर्यात गरेको छ। उक्त अवधिमा उसले कुल १२ अर्ब डलरको निर्यात गरेको थियो। 

यता तुलनात्मक रुपमा नेपालका बाह्य व्यापार नै निकै कमजोर छ। कुल १९ खर्ब २० अर्ब रुपैयाँको आयात रहँदा नेपालले २ खर्ब रुपैयाँको मात्रै निर्यात गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .