द्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले तत्काल बैंकको ब्याज र किस्ता तिर्न नसक्ने बताएका छन्।
महासंघको गण्डकी प्रदेश सभामा बोल्दै उनले बजारबाट उधारो नउठेकाले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने बताए।
‘अहिले दैनिक रूपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्ते सहित सूचना प्रकाशित हुने काम गरेको छ,’ उनले भने, ‘अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरण गर्नुपर्छ।’
राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण अहिले उद्योगी व्यवसायी उच्च व्याजदरको चपेटामा परेको उनको भनाइ थियो।
सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने बेला आएको बताएका छन्।
सरकारले व्यवसायीका माग सुनुवाइ नगरेकै कारण समस्या झन जटिल बन्दै गएको उनको भनाइ थियो।
‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ उनले भने, ‘अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौं कि आफ्ना माग सुनवाई गर्न पनि सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ।’
अहिलेको समस्या समाधान गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकको मध्यस्तता हुनुपर्ने उनको तर्क छ।
‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गर्दा हामी मारमा परेका छौ। अब हामीले सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ।’
यस्तै आर्थिक संकटका कारण उद्योगी व्यवसायीले बजारमा दिएको उधारो नउठ्ने सम्भावना बढेको बेला सरकारले उधारो रकममै पनि कर लिँदै आएको गुनासो उनले गरे। ‘अहिले हामी दोहोरो मारमा छौं, तसर्थ उद्योग व्यवसाय बचाउनका लागि पनि सरकारले तत्काल क्रेडिट एक्ट ल्याउनु पर्छ,’ उनले भने।
Shares
प्रतिक्रिया