ad ad

कारोबार


एडीबीका देशीय निर्देशकले भने– सरकारका नयाँ कार्यक्रममा सहयोग गर्न तयार छौँ

एडीबीका देशीय निर्देशकले भने– सरकारका नयाँ कार्यक्रममा सहयोग गर्न तयार छौँ

नेपालखबर
बैशाख ११, २०८० सोमबार १६:९, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक श्रीजना राजभण्डारी सहभागी थिए।

शिष्टाचार भेटवार्तामा आयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल भएको थियो। छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

भेटमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो। उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरुमा लगानी आवश्यक रहेको बताए। उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरुमा लगानी गर्न एडीबीसँग अनुरोध गरे। 

एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडीबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडीबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको समेत बताए। 

एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ। सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो।

गत वर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो। 

पेर्टफोलियो रिभ्यू कार्यक्रममा एडीबीले सहरी खानेपानी तथा सरसफाई आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृत समेत गरेको थियो।

मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायतमा दर्जनौँ आयोजनाहरुमा एडीबीले लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .