ad ad

कारोबार


मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:२०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको बताएका छन् ।

आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले शिथिलताको कारणबारे निजी क्षेत्र जानकार रहेको बताए।

‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ। एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गर्‍यो। कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नुहुँदैनथ्यो, त्यो अर्को विषय हो’, मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ। यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु। उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनुभएको छ, म पर्खेर बसेको छु।’

ब्याजदरले समस्या सिर्जना गरेको बताउँदै उनले यसले बजारमा पुँजी प्रवाह नभएको बताए। मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह गरी उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ’, उनले भने, ‘हाम्रो ठेक्का प्रक्रियामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ। सबै क्यिलयरेन्स नभई ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन।’ 

उनले साइट क्लियरेन्स नहुँदा यो समस्या आउने बताउँदै वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न नसकेको उल्लेख गरे। त्यसले गर्दा नै पुँजीगत खर्चमा समस्या आएको उनको भनाइ थियो।

अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने बताउँदै उनले वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुर्मुराउने परम्परा रहेकाले यसरी नहुने बताए। 

उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ। समस्याका धेरै पाटा र चाङ छ। समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन। समस्या समाधानमा मेरो इमान्दार कोशिस हुनेछ, समर्पित भएर म काम गर्दै छु। कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु।’

मन्त्री डा. महतले राज्य संयन्त्रमा समस्याहरु रहे पनि ती समस्या सम्बोधन गर्न कुनै हिच्किचाहट नभएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .