ad ad

कारोबार


अमेरिकामा नेपालीद्वारा सञ्चालित कम्पनीलाई राष्ट्रपति बाइडेनले दिए अवार्ड

अमेरिकामा नेपालीद्वारा सञ्चालित कम्पनीलाई राष्ट्रपति बाइडेनले दिए अवार्ड

मधुकर अधिकारी
बैशाख २४, २०८० आइतबार १८:५४, वासिङ्टन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा. राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्त रुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति बाइडेनले सम्मान गरेका हुन्। 

साइनसिक्सलाई अमेरिकाको ‘स्मल बिजनेस एड्मिनिस्ट्रेसन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मान गरेको हो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति बाइडेनले सो अवार्ड प्रदान गरेका हुन्। सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो। हाल उक्त कम्पनीमा २६ जना कर्मचारी छन्। यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलोपटक प्रदान गरिएको हो। 

अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ। यस्ता साना व्यवसायीले ६ करोड १७ लाख जनालाई रोजगारी दिएका छन्। कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ। 

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित उक्त कम्पनीका अध्यक्ष डा. भण्डारी हुन् भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्छिन्। साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कुल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए।

अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइट हाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको प्रतिक्रिया दिए। अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको हो। “यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्त्वपूर्ण समय हो”, पौडेलले भने। 

उनले थपे, “भेटका क्रममा राष्ट्रपति बाइडेनसँग केही संवाद पनि भयो। राष्ट्रपति बाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति बाइडेनले नेपालका बारेमा जान्दछु”, भने। 

राष्ट्रपति बाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नाका साथै व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको पनि उनले जानकारी दिए। 

त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरुलाई हौसला प्रदान गरेको जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आफूलाई खुसी बनाएको बताएको भण्डारीले सुनाए। 

कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आएका हुन्। अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरुले यो सफलता हासिल गरेको उनीहरुको भनाइ छ। 

यो नेपाली मूलकालाई मात्र नभएर सम्पूर्ण आप्रवासीका लागि पनि एउटा प्रेरणादायी क्षण भएको उनीहरुको भनाइ छ। भावी पिँढीका लागि पनि मार्गनिर्देशक बन्न सकोस् भनेर आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षता विस्तार गर्ने पक्षमा आफूहरु रहेको उनीहरुले बताए। 

यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्न आवश्यक उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ। उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .