पछिल्लो तीन कारोबार दिनमा करिब ११० अंकले घटेको बजार आज १६.५४ अंकले बढेको छ।
आज बजार १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो।
सरकारले बजेटमार्फत धितोपत्र कारोबारीहरुले अघिल्लो तीन वर्षमा आय भुक्तानी गर्नुपर्ने उल्लेख गरेसँगै मंगलबार र बुधबार राताम्मे भएको थियो।
बुधबार बेलुका आन्तरिक राजस्व विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जानकारी गरायो।
विभागले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘त्यस्तो कारोबारबाट भएको लाभको नियमानुसार दाखिला भएको ५प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको उल्लेख छ।’
आयकरको कारण त्रसिएका लगानीकर्तालाई आन्तरिक राजस्व विभागको विज्ञप्तिले मनोबल बढाएको देखिन्छ। जसकारण आज बजार बढ्न सफल रह्यो। अघिल्लो कारोबारको तुलनामा आज कारोबार घटेको छ।
आज बजारमा १ अर्ब ६५ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिक्री चाप बढेका कारण कारोबार समेत २ अर्ब बढी भएको थियो। आज सेयर लगानीकर्ता मनोबल उच्च हुँदा कारोबार केही घटेको देखिन्छ।
आज जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ। त्यसैगरी विपीडब्लु लघुवित्तको ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले बढेको छ।
आज बजारका प्रभु बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ। प्रभु बैंकको प्रमोटर सेयरको २३ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी शिवम सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
Shares
प्रतिक्रिया