जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ।
मंगलबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरे।
करिव ३,२२० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। यस सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ।
उद्घाटन समारोहमा बोल्दै कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको उनले बताए। अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए।
यस्तै, सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बीमा व्यवसाय आफ्नो सीमा आफैँ तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा प्रचुर सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरुको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए।
Shares
प्रतिक्रिया