ad ad

कारोबार


पहिलोपटक ड्रागन वोट फेस्टिभल हुने, जहाज चार्टर गरेर पोखरा आउँदै चिनियाँ पर्यटक

पहिलोपटक ड्रागन वोट फेस्टिभल हुने, जहाज चार्टर गरेर पोखरा आउँदै चिनियाँ पर्यटक

नेपालखबर
जेठ २५, २०८० बिहिबार १६:२७, काठमाडौँ

नेपालमा पहिलो पटक ड्रागन वोट फेस्टिभल हुने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा फेस्टिभल असार ८ र ९ गते हुने भएको हो।

पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा महोत्सव हुने भएको छ।   

नेपालको पर्यटनमा चीन मुख्य पर्यटकीय स्रोत बजार पनि हो। कोभिड १९ अघि नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढि बढि पर्यटक आउने मुलुकमा चीन थियो। अहिले कोभिडपछि यो संख्या घटेता पनि प्रोटोकल पछि चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ।
 

नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। इतिहास कालमा चिनियाँ प्रख्यात भिक्षु फक्सियान र सुआन्जाङले बुद्धको पूजा गर्न हजारौं माइलको यात्रा गरी नेपाल आएका थिए। नेपाली प्रसिद्ध शिल्पकार अरनीकोले चीनको प्रसिद्ध सेतो प्यागोडाको डिजाइन र निर्माण गरेका थिए। यी अनन्त कथाहरूले दुई देश र जनस्तरमा लामो समयदेखिको र गहिरो मित्रता रहेको चिनियाँ दुतवासले जनाएको छ।

सन् २०२३ को मे महीनामा नेपाल आउने पर्यटकमा भारत अमेरिका पछि चीनको तेस्रो स्थानमा छ। मेमा  ४ हजार ६६७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ।

ड्रागन वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको छ भने यो एशियएन गेममा समेत सहभागी गराइने खेल हो। नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिवल दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले नेपालमा पहिलो पटक बोट फेस्टिभल हुन लागेको र हरेक वर्ष आयोजना हुने जानकारी दिए।

‘चिनियाँ पर्यटकलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका रहने छ,’ सिइओ रेग्मीले भने,‘चीनबाट पहिलो पटक जहाज चार्टर गरेर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी रहेको छ।’
 
रेसका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री र चीनबाट वोट रेश तथा प्रशिक्षणको लागि आउने सहभागीहरु नेपाल आइसकेका छन्।

बोर्डका अनुसार उनीहरुले पोखरा फेवातालमा प्रतियोगिताको लागि अभ्यास गरिरहेका छन्। फेस्टिवलमा नेपालका सातैवटै प्रदेश र चीनबाट आएका प्रतियोगीहरु सहभागी हुनेछन्।

कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुई वटा सेगमेन्टमा ८ वटा वोट रेश प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी पनि हुनेछन्।

चिनियाँ दूतावासले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर बसेको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .