ad ad

कारोबार


योजना आयोगका उपाध्यक्ष र चीनको एनडीआरसीका उपाध्यक्षबीच भेट, प्राविधिक सहयोगबारे छलफल

योजना आयोगका उपाध्यक्ष र चीनको एनडीआरसीका उपाध्यक्षबीच भेट, प्राविधिक सहयोगबारे छलफल

नेपालखबर
असार २७, २०८० बुधबार १६:२८, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ्ग लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ।

उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ। त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो।उपाध्यक्ष डा. श्रेष्ठले एनडिआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन्।

पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रुपमा रहेको यस चिनियाँ संस्था हाल (एनडिआरसी) को रुपमा चिनिन्छ। यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ।

चिनियाँ विकास उपमन्त्रीसँग छलफल
त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए) का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ।

चीनको राजधानी बेइजिङ्गमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरु हेर्ने निकाय हो।

भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्बन्धमा छलफल भएको थियो।

साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनाहरुलाई छिटो अघि बढाउनका लागि दुवै तर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्यहरु बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो।

यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठ लगायत दूतावासका उच्च अधिकारीहरु र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चीन सरकारका उच्च अधिकारीहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .