ad ad

कारोबार


विद्युतीय ट्याक्सीमा चालकहरुको आकर्षण, बजार ओगट्दै टाटा एक्सप्रेस टी

विद्युतीय ट्याक्सीमा चालकहरुको आकर्षण, बजार ओगट्दै टाटा एक्सप्रेस टी

टाटाको विद्युतीय ट्याक्सी। तस्बिर : सरोज नेपाल


नेपालखबर
असार २७, २०८० बुधबार २०:२३, काठमाडौँ

काठमाडौँ नयाँबजार बस्ने विनोद तमाङ ३ महिनादेखि विद्युतीय ट्याक्सी चलाइरहेका छन्। पहिले पेट्रोल चालित ट्याक्सी चलाएका उनलाई विद्युतीय ट्याक्सीले फरक अनुभव दिएको छ।

राति फुलचार्ज गरेपछि दिनभर काठमाडौं उपत्यकामा कुदाउन पुग्छ। तमाङ दैनिक १०० किलोमिटर विद्युतीय ट्याक्सी कुदाइरहेको बताउँछन्। 

‘विद्युतीय ट्याक्सीको चार्ज अधिकांश समय घरमै गर्छु,’ तमाङले सुनाए, ‘चार्ज सकिन लाग्दा सिप्रदीको सर्भिस सेन्टर बालकुमारी, विद्युत प्राधिकरणको स्टेसन रत्नपार्कमा २–३ पटक गरेको छु।’

ट्याक्सी चार्ज गर्दा महिनाभरिमा ४५ सय देखि ५ हजारसम्मको बिल उठ्ने गरेको छ। जबकि पेट्रोल ट्याक्सीको खर्च दैनिक २ देखि ३ हजारसम्म लाग्ने गर्छ। उनले आफ्ना साथीहरुलाई पनि विद्युतीय ट्याक्सी चलाउन सुझाव दिने गरेका छन्।

‘हामी चलाएर हिँड्नेलाई पनि आनन्द आउँछ,’ उनी भन्छन्, ‘ट्याक्सी चढ्ने पनि खुसी हुनुहुन्छ।’

जोरपाटीका पशुपति दाहालले १६–१७ वर्षदेखि ट्याक्सी चलाउँदै आएका छन्। पछिल्लो डेढ महिनादेखि टाटाको एक्सप्रेस टी विद्युतीय ट्याक्सी चलाउन थालेका छन्। 

‘राति चार्ज गरेपछि दिनभर कुदाउँदा ७० प्रतिशतसम्म चार्ज सकिएको छ,’ दाहालले सुनाए, ‘दैनिक १४० देखि १५० रुपैयाँसम्ममा फुल चार्ज हुन्छ।’

उनले बजारमा उपलब्धमध्ये एक्सप्रेस टी सबैभन्दा सुविधासम्पन्न भएको बताए।

‘अलि फराकिलो भएकाले ५ जना सजिलै अट्छन्। अहिलेसम्म कसैले गुनासो गरेको छैन,’ दाहालले भने, ‘कम खर्चमा धेरै कमाइ हुँदा हामीलाई पनि राम्रै भएको छ।’

तमाङ र दाहालको भनाइले पुष्टि गर्छ, ट्याक्सी चालक विद्युतीय सवारीतर्फ आकिर्षत हुँदै गएका छन्। हाल नेपालमा सिप्रदी टे«डिङले मात्रै विद्युतीय ट्याक्सी बजारमा ल्याएको छ। टाटाको एक्सप्रेस टीले बजार ओगट्दै गएको छ।

बागमती प्रदेशका २० वर्ष पुराना र ट्याक्सीका नम्बर प्लेटले विद्युतीय ट्याक्सी खरिद गर्न पाउने व्यवस्थाले एक्सप्रेस टीका ट्याक्सी काठमाडौं उपत्यकामा देखिन थालेका हुन्। 

नेपालमा चलिरहेका ट्याक्सी ह्याचब्याग (गाडीको डिजाइन) सेगमेन्टका थिए। अब सेडान सेगमेन्टका ट्याक्सी गुड्न थालेका छन्।  

कस्तो छ टाटाको एक्सप्रेस टी?
टाटाको एक्सप्रेस टीमा २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्री छ।  ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुने चार्ज सकेट राखिएको छ। 

भित्री र बाहिरी बनावट आकर्षक हुनुका साथै एक्सप्रेस–टी मा सुरक्षाको लागि एअर ब्याग, इबीडी सहितको एबियस लगायतका विशेषताहरु पनि छन्। घरमै १५ एम्पियरमा चार्ज गर्न मिल्ने एक्सप्रेस–टीमा स्वचालित एसीको पनि व्यवस्था छ।

सरकारले नयाँ ट्याक्सीको लागि नम्बर प्लेट उपलब्ध गराएको छैन। बागमती प्रदेशले ३ वटा आधारमा ट्याक्सी दर्ता गरिरहेको छ। 

अहिले विद्युतीय ट्याक्सी प्रयोग गर्ने सबै २० वर्ष पुराना सार्वजनिक यातायातको सट्टा विद्युतीय ट्याक्सी प्रयोग गरेका छन्। दोस्रोमा अहिले नै ट्याक्सीको नम्बर प्लेट भएकाले विद्युतीय ट्याक्सी प्रयोग गर्नेलाई दिइएको छ। तेस्रोमा निलो माइक्रोको सट्टा विद्युतीय ट्याक्सी दर्ता गराएका छन्। 

‘पुराना ट्याक्सी र सार्वजनिक यातायातका नम्बर प्लेट विद्युतीय ट्याक्सीको लागि प्रयोग हुँदै आएका छन्,’ सिप्रदीका एक अधिकारीले बताए। 

विद्युतीय ट्याक्सीको दिनभरिको खर्च २–३ सय मात्र छ। ट्याक्सी चालकले एक महिनामा २ लाखसम्म कमाउन थालेका छन्। एक्सप्रेस टीका मात्रै १३० वटा ट्याक्सी बजारमा गुडिरहेका छन्। 

‘विद्युतीय गाडी बजारमा गएपछि खासै ठूलो गुनासो आएको छैन,’ सिप्रदीका ती अधिकारीले भने, ‘ट्याक्सीबाट कमाइ भएन ईएमआई तिर्न सकेनौँ भन्ने कोही छैनन्।’

सिप्रदी टेडिङले विद्युतीय ट्याक्सी प्रयोग गर्नेले घरमै चार्जिङ गर्ने गरेको जानकारी दिएको छ। सर्भिस सेन्टरमा फास्ट डिसी चार्जर भए पनि ट्याक्सी चालकले खासै प्रयोग नगरेको कम्पनीले जनाएको छ। 

जीपीएस प्रविधि जडान
सडकमा फरक देखिने र वातावरणलाई पनि सुहाउने सार्वजनिक यातायातमा विद्युतीय ट्याक्सी थपिएको सिप्रदी ट्रेडिङले जनाएको छ। टाटा मोटर्सका विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा रहेको छ। 

एक्सप्रेस टीका प्रिमियम विद्युतीय ट्याक्सी धनीहरुले अब आफ्नो मोबाइल फोनमार्फत नै आफ्नो गाडी कहाँकहाँ गुड्यो भनेर हेर्न सक्नेछन्।

विद्युतीय ट्याक्सीको फ्लिट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्ने व्यवस्था गरेको छ। 

जीपीएस जडित गाडीले ग्राहकहरुको सुरक्षाका लागि सहयोग गर्नुका साथै सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .