ad ad

कारोबार


साताभर ७८.९९ अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चियो

साताभर ७८.९९ अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चियो

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८० शुक्रबार २०:७, काठमाडौँ

यस साता नेप्से परिसूचक ३.७३ प्रतिशतले बढेको छ। गत साताको अन्तिम कारोबार दिन २०८४.९३ बिन्दुमा रहेको नेप्से यसपटक ३.७३ प्रतिशत अर्थात ७८.९९ अंकले बढेर २१६३.९२ बिन्दुमा पुगेको हो। 

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। तीमध्ये ४ कारोबार दिन बढ्यो भने अन्तिम दिनमा सामान्य अंकले घट्यो। 

अघिल्लो साता बजार ३५.५७ अंकले बढेको थियो। यो साता पनि बजार लगानीकर्ताका लागि उत्साहपूर्ण देखियो। 

तर, अन्तिम कारोबार दिन क्रेताको तुलनामा बिक्रेता हाबी हुँदा बजार सामान्य अंकले घट्यो। बजार निरन्तर बढेर २२ सयनजिक पुग्दा सेयर कारोबार (ट्रेडर)ले नाफा बुक गर्दा बजार २२ सय बिन्दु तल रोकिएको हो। 

बजारको अवस्था हेर्दा लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीति कुरेको देखिन्छ। प्रणालीमा अधिक तरलता रहे पनि मौद्रिक नीतिले १२ करोडको सीमा र जोखिम भार १५० प्रतिशतलाई परिमार्जन नगरे उत्साह नदेखिने जानकार बताउँछन। 

अघिल्लो साताको तुलनामा यो साता बजार ७८.९९ अंकले बढ्दा कारोबार भने घटेको छ। यस साता बजारमा साढे १४ अर्बको कारोबार भएको छ। 

अघिल्लो साता बजारमा करिब १६ अर्बको कारोबार भएकोमा यो साता कारोबार साढे १४ अर्बमा खुम्चिएको हो। 

कारोबार खुम्चिदै जानुले पनि लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा रहेको अनुमान गर्न सकिन्छ। 

यही साउन ७ गते केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्दैछ। मौद्रिक नीतिले पनि बजारको आगामी गति निर्धारण गर्नेछ।

मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाइ गरिएको छ। सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएको छ। 

अर्कातिर जोखिमभार पनि १५० प्रतिशत कायम गरिएको छ। यी प्रावधान खुकुलो गरिए बजारले नयाँ उचाइ तय गर्न सक्ने छ। यद्यपि, तरलता सहज भएकाले यी प्रावधान यथावत रहँदा पनि बजारले क्रमशः अपट्रेन्ड समात्न सक्ने विश्लेषकहरुको तर्क छ। 

यस साता सेन्सेटिभ इन्डेक्स १९.२७ अंकले बढेको छ। उता फ्लोट इन्डेक्स ५.०८ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स ५.८५ अंकले बढेको छ।

यस साता नेप्सेको कूल बजार पुँजीकरण ३१ खर्ब ७९ अर्ब छ। १३ वटा उपसमूहमध्ये १२ उपसमूह बढ्दा म्युचल फन्ड घटेको छ। 

यो साता बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेको छ। गत साताको अन्तिम कारोबार दिन १२३४.८० बिन्दुमा रहको बैंकिङ उपसमूह यो साता १३१४.७५ बिन्दुमा पुगेको हो। 

यो साता म्युचल फन्ड उपसमुह भने ०.२७ विन्दुले घटेको छ। 

यो साता जीवन बीमा, बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्स, निर्जीवन बीमा, इन्भेस्टमेन्ट, अन्य, हाइड्रोपावर, ट्रेडिङ, डेभलपमेन्ट बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहमा बढेका छन्। 

यस साता किसान लघुवित्तको ३ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

साथै अरुण कावेली पावर कम्पनीले १८ लाख ५५ हजार कित्ता सेयर र हिमालयन लघुवित्तले ३ लाख १६ हजार कित्ता सेयर सूचीकृत गरेको छ। 

यो साता बीपीडब्लु लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ। 

यो साता शिवम् सिमेन्ट कम्पनी र हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा अधिकांश नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि बैंक, कुमारी बैंक लगायत बैंकहरु सेयर थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .