ad ad

कारोबार


कोशीमा बन्ने ड्यामलाई कलकत्तासँग जोडेर पानीजहाज चलाउन सकिन्छ : ऊर्जामन्त्री

कोशीमा बन्ने ड्यामलाई कलकत्तासँग जोडेर पानीजहाज चलाउन सकिन्छ : ऊर्जामन्त्री

नेपालखबर
माघ ८, २०७६ बुधबार ६:२५,

 सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ।

१० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो। रामेछाप र काभ्रेको सीमानामा पर्ने जलासययुक्त सुनकोसी–२ र सुनकोसी–३ आयोजनास्थल भ्रमणका लागि आएका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्यु्त देशभित्रै उत्पादन गर्ने र बढी भएको छिमेकी मुलुकमा बिक्री गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको बताए।

ऊर्जा क्षेत्रलाई वर्तमान सरकारले मुलुक समृद्धिको महत्वपूर्ण आधार मानेको चर्चा गर्दै मन्त्री पुनले त्यसैअनुसार लगानी गरिने स्पष्ट गरे।

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने स्पष्ट गरे। ‘कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ। त्यसलाई भारतको कलकत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘त्यसो भयो भने हामी समुन्दख्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं।’

सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे। आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्बास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए। ‘सरकार जनताको अभिभावको हो। जसरी बाबुआमाले छोराछोरीको संरक्षण गर्छन्, सरकारले पनि आफ्ना जनताको संरक्षण गर्छ’, उनले भने, ‘अन्यत्रै जसरी दिने गरिएको छ, सुनकोसी–२ र ३ बन्दा सरकारले त्यसरी नै उचित मुआब्जा दिन्छ, स्थानीयलाई रोजगारीमा प्राथमिकता हुन्छ।’

सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको जानकारी उनले दिए। तर, सुनकोसी–२ को भने अध्ययनको काम जारी रहेकाले अझै भन्न नसकिने उनको भनाइ थियो। सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रुपले केही महँगो पर्न सक्ने मन्त्री पुनले स्पष्ट गरे।

‘सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ। त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ’, ‘मन्त्री पुनले भने ‘लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन। तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ।’

सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा स्थानीयसँग मन्त्री पुनले छुट्टाछुट्टै अन्तरक्रिया गरे। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्वउर्जाराज्यमन्त्री एवं नेकपा नेता सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभई सहयोग हुने प्रतिबद्धता जनाए। विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिए।

सुनकोसी–३ आयोजनाबारे
सुनकोसी– ३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग ( जाईका) सन् १९८५ मै गरेको थियो। अध्ययनले सुनकोसी–३ का लागि साविकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट १ सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत उत्पादन गर्न सकिने औंल्याएको थियो। तर, विद्युत विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले सुनकोसी–३ बाट ६४० मेगावाट विद्युत उत्पादन हुन सक्ने देखिएको छ। परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेस्टिगेसन, डिजाइन एन्ड सिसर्च इन्ष्टिच्युट (सीआईडीआरआई) र नेपालको इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिमार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ। विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने जानकारी दिनुभयो । अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत उत्पादन हुन सक्ने देखाएको छ। त्यसबाट वार्षिक विद्युत उत्पादन वार्षिक २.४ अर्ब यूनिट हुने सिंहले बताए। आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (ईआईए) समेत सुरु भइसकेको छ।

सुनकोसी–३ को बाँधस्थल काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुन्छ। १ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ। जलासय करिब ३० किलोमिटर लामो निर्माण हुन्छ।
आयोजनको विद्युत गृह काभ्रेको तिमाल गाउँपालिका–९ तित्रेटारमा बन्नेछ। आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन्। आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुन्छ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्छ।

सुनकोसी–२ आयोजनाबारे
सुनकोसी–२ को जडित क्षमता ९५० मेगावाट हो। उक्त आयोजानबाट सन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ। बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ। गजबाट करिब १ सय ६० मिटर उचाइ र ४ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाले जनाएको छ। जलासयको लम्बाइ ५३ किलोमिटर लामो। यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत गृह हुनेछ। जलासयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .