ad ad

कारोबार


सडक हिलाम्मे भएपछि टिमुरेमै रोकिए चीनबाट ल्याइएका ४ सय विद्युतीय गाडी

सडक हिलाम्मे भएपछि टिमुरेमै रोकिए चीनबाट ल्याइएका ४ सय विद्युतीय गाडी

टिमुरेमा रोकिएका चिनियाँ विद्युतीय सवारीसाधन।


रासस
भदौ ८, २०८० शुक्रबार ८:७, रसुवा

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएका चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन्। टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुलनजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण  विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन्। 

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका  कारण गत वर्ष र चालु आवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जिप, भ्यान टिमुरेमै रोकिएका हुन्। यसबाट रु एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए। सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ। 

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ। मालवस्तु  आयात–निर्यात गर्ने  प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन्। सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ। 

यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट रु एक अर्ब तीन करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कबापतको राजस्व  सङ्कलन भएको छ। साउनमा लक्ष्यभन्दा ३० दशमलव २६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ। 

चीनबाट जुत्ता, चप्पल, रेडिमेट कपडा, विद्युतीय उपकरण, रोल कपडा, बच्चाका खेलौनालगायतका विविध सामग्री आयात भएको बताइएको छ। साउनमा तीन सय ५० वटा कन्टेनरमार्फत चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ। 

माल सामग्री परीक्षण कार्यमा कडाइ गरिएको र आफूले मगाएको सामानमा ब्राण्ड फरक पारी गलत घोषणा गर्ने कम्पनी वा फर्मका प्रतिनिधिलाई थप मूल्यको ५० प्रतिशत जरिवानासमेत गर्न थालिएको  छ। यसबाट चालु आवको पहिलो महिनामै त्यस्ता गलत विवरण भर्ने व्यापारीका प्रतिनिधिबाट रु आठ करोडभन्दा बढी जरिवाना गरिसकिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .