ad ad

कारोबार


बजेटमा छैनन् नागरिक उड्डयन प्राधिकरणका नयाँ कार्यक्रम र योजना

बजेटमा छैनन् नागरिक उड्डयन प्राधिकरणका नयाँ कार्यक्रम र योजना

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १६:१६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना भन्दा पनि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्ष साउन १ गतेदेखि कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला गरेर प्राधिकरण सञ्चालक समितिले मंगलवार आर्थिक वर्ष २०८०/८१ बजेट ल्याएको थियो।

नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैँले गर्दै आएको भएपनि बजेट त्यही अनुसार नभएको देखिएको छ। प्राधिकरणले ढिला गरेर बजेट ल्याएपनि कुनै नयाँ र ठूलो आयोजनाहरु समेट्न सकेको छैन।

प्रधाकिरणले विगतका पुराना कार्यक्रमहरु र योजनाहरुलाई नै निरन्तरता दिएर बजेट पास गरेको छ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएका ठूला अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि नयाँ कार्यक्रम योजना बनाउन समेत प्राधिकरण चुकेको देखिन्छ। चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणले नयाँ पूर्वाधार विकास भन्दा पनि विगतका पुराना कार्यक्रमलाई चालु आर्थिक वर्षभित्रै सक्नेगरी अगाडि बढेको देखिन्छ।

प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा विशेष गरी विमानस्थलको पूर्वाधार विकास, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा पारेको छ। त्यस्तै,यो वर्षको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गर्ने विषयलाई जोड दिइएको छ।

प्राधिकरणले यो वर्ष उपकरण खरिदमा बजेट विनियोजन गरेको छ। बजेटमा नेपालगञ्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण शुरु भएका आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तीब्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि बिस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताए।

प्रवक्ता निरौलाले चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणको स्रोतमा कमी भएको कारण नयाँ र ठूला पूर्वाधार आयोजनाहरु शुरुवात गर्ने कुनैपनि कार्यक्रमहरु आउन नसकेको स्पष्ट पारे। उनले प्राधिकरणले विगतका वर्षहरुमा ठेक्का सम्झौता भएर निरन्तरता रहेका कार्यक्रमहरु सम्पन्न गर्ने बजेटको मुख्य उद्देश्य रहेको बताए। प्राधिकरणको बजेट विमानस्थल सञ्चालन,यात्रु सुविधामा वृद्धि गर्नेगरी आएको उनकोे दाबी छ।

उनले चालु आर्थिक वर्षमा प्राधिकरणले पुँजीगततर्फ ठूला आयोजनाहरु सञ्चालन नगर्ने गरी बजेट आएको उल्लेख गरे। प्रवक्ता निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला पूर्वाधारका कामहरु चालु अवस्थामा रहेको भन्दै विमानस्थलको धावन मार्गको पूर्वतर्फ जहाजको पार्किङ क्षेत्र बिस्तार गर्ने र ह्याङ्गर व्यवस्थापन कार्यक्रमको निरन्तरता दिएको बताए।

प्रवक्ता निरौलाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे रिनोभेसन स्तर उन्नति गर्ने बाटोहरु र पुलहरु बनाउने कार्यक्रम रहेको उल्लेख गरे। उनले विभिन्न विमानस्थलमा एक्सरे मिसिनहरु आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा थप राख्ने गरी बजेट विनियोजन भएको स्पष्ट पारे।

उनले चन्द्रगण्डी,जनकपुर,गौतमबुद्ध विमानस्थलहरुमा ब्यागेज ह्याण्डलिङ सिस्टम यात्रुहरुलाई सहज हुने तरिकाले सेवा दिन बजेट व्यवस्था गरेको दाबी गरे। उनले सुर्खेत, राजविराज र तुम्लिङटार विमानस्थलमा धावनमार्गमा लाइटहरु व्यवस्था गर्ने कार्यक्रम चालु बजेटमा रहेको बताए।

उनले तराईका विमानस्थलमाहरुमा फायर भेहिकलहरु थप गरिने बताए। प्रवक्ता निरौलाले निर्माण सम्पन्न भएर सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशा गरे अनुरुप अन्तर्राष्ट्रिय वायुयानहरु आउन नसको भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय वायुयानहरुलाई आकर्षित गर्न प्राधिकरणले लिने जहाज अवतरण,विश्राम,सञ्चार,सुरक्षा शुल्कमा शतप्रतिशत छुट गरेको बताए।

प्रवक्ता निरौलाले , ‘प्राधिकरण अन्तर्राष्ट्रिय वायुयानहरुलाई आकर्षित गर्न प्राधिकरणले लिने जहाज अवतरण, विश्राम, सञ्चार, सुरक्षा शुल्कमा शतप्रतिशत छुट गरेका छौं। पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा भदौ २३ गते शनिवार भूटान एयरलाइन्सले चार्टड उडान गर्दैछ। त्योसँग पोखरा विमानस्थलबाट पनि चाँडै नियमित अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा छ।’

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकता हवाई सुरक्षा र उडान सुरक्षामा केन्द्रित गरेर बजेट तर्जुमा गरेको बताए। उनले विगतका वर्षदेखि रहेका विमानस्थल पूर्वाधार विकास र नियमित गर्नुपर्ने विमानस्थलका जनशक्तिहरुको विकास गर्न तालिम दिने र पदपूर्ति गर्ने कार्यक्रमहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरु आईकाओ र आएटा लगाउतका अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिनेगरी बजेट तथा कार्यक्रमहरु तय भएको उल्लेख गरे।

निरौलाले ले प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताए। गत आर्थिक वर्ष २०७९/८० को तुलनामा प्राधिकरणले यो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ कम बजेट ल्याएको छ। उनले चालु आर्थिक वर्षका कुल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेटमा पूर्वाधार विकास (पुँजीगत खर्च) तर्फ  १९ अर्ब ३ करोड  र खर्च ७ अर्बमा सिमित गरेको बताए।

दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

उनले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको साँवा, ब्याज, सरकारलाई भुक्तानी गर्नुपर्ने आयकर मूल्य अभिवृद्धिकर  र शेयर लगानी बापतको लाभांश समेतको लागि १० अर्ब छुट्याएको उल्लेख गरे। उनले बजेटको स्रोत व्यवस्थापनमा प्राधिकरणको स्रोतबाट ३० अर्बको व्यवस्थापन गरिएको र बाँकी नेपाल सरकारले प्राधिकरणलाई दिने शेयर तथा ऋण लगानी बापत ६ अर्ब ६४ करोड रहेको बताए।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएकोमा चालु आर्थिक वर्ष ५ अर्ब १९ करोड रुपैयाँ घटाएर बजेट ल्याएको छ। दुई राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले चालु आर्थिक वर्ष प्राधिकरणको बजेट घटेको प्राधिकरणले बताएको छ।

गत आर्थिक वर्षमा १३ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरले चालु आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .