यो वर्षको दसैँ निकै कमजोर किनमेल भएको व्यवसायीहरुको प्रतिक्रिया आएको छ। दसैँ सुरु हुने केहीदिन अघि मात्रै भिडभाड बढेको तर पनि खरिद बिक्री निकै कमजोर भएको प्रतिक्रिया आएको हो।
नेपालीको उपभोग शैलीलाई हेर्दा वर्षभरिको आधा किनमेल दसैँमा नै हुने गरेको थियो तर यो वर्ष भने निकै कमजोर भएको न्यूरोडका व्यवसायीहरु बताउँछन्।
उनीहरूका अनुसार यो वर्ष वितगको तुलनामा आधा पनि खरिदबिक्री भएको छैन। यसको मुख्य कारण महंगी नै भएको बताइएको छ।
वस्तु आयत गर्दा नै परल मूल्य बढेका कारण बजार भाउ बढेको उनीहरुको भनाई छ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार पनि महँगी निकै बढेको देखिएको हो।
भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८दशमलव १९ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ७४ प्रतिशत हुँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ९९ प्रतिशत रहेको छ।
साउन र भादौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७ दशमलव ८६ प्रतिशत, तरकारीको १४ दशमलव ५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ३८ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १२ दशमलव ६० प्रतिशत र रेस्टुरेन्ट तथा होटलको १० दशमलव ९७ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३ दशमलव ०८ प्रतिशतले घटेको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव २१ प्रतिशत, शिक्षाको ९ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६ दशमलव ५९ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९ दशमलव ८३ प्रतिशत, तराईको ७ दशमलव ०३ प्रतिशत, पहाडको ८ दशमलव ०९ प्रतिशत र हिमालका ११ दशमलव ३२ प्रतिशत छन्।
भिडिओ
Shares
प्रतिक्रिया